काँग्रेसमा नयाँ संरचनाबारे तिब्र छलफल

0

भदौं, २५ ।
नेपाली कांग्रेसको विधान मस्यौदा समितिमा पार्टीको नयाँ संरचना निर्माणका विषयमा छलफल हुन थालेको छ । विधान मस्यौदा समितिले गठन गरेको तीनवटा उपसमितिमा पार्टी संरचनाका विषयमा छलफल तीव्र बनाइएको र मूल समितिको बैठकमा छलफलको प्रतिवेदन प्रस्तुत गरिने महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । विधान मस्यौदा समितिका संयोजकसमेत रहेका खड्काले पार्टीको संरचनाका विषयमा उपसमितिमा छलफल भइरहेको जानकारी दिंदै मूल समितिमा प्रतिवेदन प्रस्तुत भएपछि खाका तयार हुने बताए । पार्टीको संरचना तयार गर्न गठित उपसमितिका नेता फरमुल्लाह मन्सुरले पार्टीको केन्द्रदेखि मतदान केन्द्रसम्म आठ तहको संरचना बनाउने प्रस्ताव गरिएको बताए । केन्द्रीय संरचनामा पदाधिकारीको संख्या थप्ने तयारी गरिएको छ । नेता मन्सुरका अनुसार, केन्द्रीय कार्य समितिको संख्या १३१ हुने छ । जसमा सभापति, दुई उपसभापति, वरिष्ठ नेता, दुई महामन्त्री, तीन सह–महामन्त्री र एक कोषाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ । हाल उपसभापति र सहमहामन्त्री एक एक जना रहने व्यवस्था छ । उनले केन्द्र, प्रदेश, जिल्ला, प्रदेशस्तरीय क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रस्तरीय कार्यसमिति, गाउँ–नगर समिति, वडा तह र मतदान केन्द्र लक्षित संरचनाको प्रस्ताव गरिएको जानकारी दिए ।

Share.

Leave A Reply