कामका लागि विदेश जान बाध्य धेरै युवाको सपना गरिबी मेटाउने नै हुन्छ । ती
हरेक युवा आकाशमा उड्दा एउटै सपना बुन्छन् – परिवारलाई खुशी बनाउन सकूँ । भाेिलको भविष्यलाई सवल बनाउन भरतपुर महानगपालिका २८ अन्द्रौंलीका हरि न्यौपाने पनि वैदेशिक रोजगारका लागि भारत र कतार समेत गए । १० वर्षको परदेश बसाइले पनि खासै उपलव्धि हासिल गर्न नसकेपछि न्यौपाने स्वदेश फर्किए । उनको चाहाना पुरा हुन सकेन । उनले केही स्थानीय साथीहरूसगँको भेटघाट र छलफल पछि साझेदारी व्यवसाय गर्ने सोच बनाए । अनि भरतपुर २८ अन्र्दौलीका अर्जुन गौतम र सन्तोष सापकोटासगँ मिलेर नेपाली कागज उधोग खोल्ने योजना अघि बढाए । त्यसैले सीप र जागर भयो भने सानो लगानीले स्वदेशमै राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सन्तोष, अर्जुन र हरि ।
उनीहरुले आफ्नै ए.सि.एन नेपाली कागज उधोग सञ्चालन गरेर दिनमा १५ जनालाई रोजगारी पनि दिएका छन् । उनीहरू दिनमै लगभग ८ हजारको नेपाली कागज उत्पादन गरेर ४ हजार खर्च कटाएर पनि दिन ४ हजार आम्दानी गर्न सफल भएका छन् । अहिलेसम्म २५ लाख लगानी गरेर साना तथा घरेलु व्यवसायको रूपमा सुरु गरिएको उद्योगबाट उनले अहिले मासिक एक लाख २० हजार आम्दानी गरिरहेको बताउँछन् । उद्योगमा उत्पादित कागजको माग सरकारी कार्यालयहरुमा बढी हुने उनीहरु बताउँछन् । उद्योगबाट वार्षिक ८ हजार ६ सय ४० कोरी कागज उत्पादन हुँदै आएको छ । सुरुवातमा लगानी मात्रै उठाएको उद्योगले अहिले राम्रो आम्दानी दिएको उनीहरू बताउँछन् । स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिँदै आएको हुँदा यसबाट कृषि क्षेत्रकै समग्र विकासमा सघाउ पुगिरहेको उनको धारणा छ । उद्योगकै लागि भनेर पक्की भवन निर्माणको क्रममै छ ।
यति गर्दा पनि न उनलाई सरकारको सहयोग छ न त बजार व्यवस्थापनको सुविधा, तर पनि उनीहरुले हिम्मत हारेका छैनन् । भरतपुर महानगरपालिकाले पनिनेपाली कागजको माग गरेको र माग पुरागर्न तयार रहेको बताउँदै सञ्चालक न्यौपानेले स्थानीय युवाहरुले आफ्नै बल बुताले गरेको कामलाई स्थानिय सरकारले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । यस्तै विदेश जान सपना बुनेर बसेका अधिकाशं युवाहरुलाई पनि यी युवाहरुको कामले केहि गर्न सक्ने आँट दिन्छ कि ?