भदौ ११ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)मा कराँतेतर्फ नेपालको पदकको आशा सकिएको छ ।आज जकार्तास्थित जेसीसी हलमा भएको खेलमा नेपालकी अनु अधिकारी पदकको नजिक पुगेर पनि निराश भइन् ।महिला ६० केजीमुनिको तौल समूहमा निकै फुर्तिलो प्रदर्शन गरेकी अनु कास्यपदकका लागि भएको खेलमा जापानकी खेलाडी मियो मियाहारासँग पराजित भइन् ।यसअघि प्रिक्वार्टरफाइनल खेलमा मकाउकी चिङ छेउङलाई ५–१ ले हराउँदै अनु क्वार्टरफाइनलमा पुगेकी थिइन् ।क्वार्टरफाइनलमा चाइनिज ताइपेइकी शियाउ सुहाङ घुसँग ७–२ ले हारेकी अनुले ‘रिपिचेज’ खेल्ने अवसर पाएकी थिइन् ।
रिपिचेजको पहिलो खेलमा लाओसकी खेलाडी सिर्भिमोनलाई ३–१ ले हराएपछि अनुले जापानी खेलाडीसँग कास्यपदकको भिडन्त तय गरेकी थिइन् ।तर, यो खेल गुमाएपछि कराँतेतर्फ नेपालको अन्तिम आशा पनि समाप्त भएको छ ।
यसअघि, कराँतेकै पुरुष ८४ केजीमुनिको तौल समूहमा नेपालका दिवस श्रेष्ठलाई इरानका जाबिउल्लाह पुर्साबले ८–० को फराकिलो अन्तरमा हराएका थिए ।१८औं एसियाली खेलकुदमा कराँतेका सम्पूर्ण खेलहरु सकिएका छन् ।नेपालले ८ खेलाडी सहभागी गराएकामा तीन खेलाडी कास्यपदकको भिडन्तमा पुगेर निराश भए । अरु खेलाडी त्यसअघि नै पराजित भए ।
१८औं एसियाडमा कराँतेतर्फ नेपालको पदकको आशा समाप्त
0
Share.