play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

राज्यमन्त्री बुढालाई राजीनामा गराई डोल्पाबाट चुनाव लड्दै वामदेव गौतम

0

नेकपाका सचिवालय सदस्य वामदेव गौतम अन्ततः डोल्पाबाट चुनाव लड्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री रहेका डोल्पाका नेकपा सांसद धनबहादुर बुढालाई राजीनामा गराई गौतम उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सांसद बन्न खोजेका हुन् ।

प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट पराजित गौतमलाई संसद्मा ल्याउन नेकपाका दुवै अध्यक्ष (प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल) ले ग्रिन सिग्नल दिएपछि उनका लागि पर्यटन राज्यमन्त्री बुढा राजीनामा दिएर बाटो खोल्न तयार भएका हुन् । राज्यमन्त्री बुढाले एक चरण डोल्पाका दुई नगरपालिका त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिका पुगेर जनतालाई जानकारी गराउने र काठमाडौं आई राजीनामा दिने तयारी गरेका छन् । बुढा ७ भदौमा डोल्पा जाँदै छन् ।

स्रोतका अनुसार उनले भदौ १२ मा राजीनामा दिने तयारी गरेका छन् । त्यसको पुष्टि उनले मंगलबार आफ्नै कार्यकक्ष सिंहदरबार पुगेका जिल्लाका प्रदेशसभाका सांसद, पूर्वमन्त्री नरबहादुर बुढाथोकी, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, केही गाउँपालिकाका अध्यक्षसँगको छलफलमा गरेका हुन् ।

‘उहाँ (राज्यमन्त्री) ले राजीनामा दिने पक्कापक्की भयो, पहिले डोल्पाका दुईतीन वटा गाउँ, नगरपालिका गएर जनतालाई आफ्ना कुरा राख्ने र त्यसपछि काठमाडौं आएर १५ गतेभित्रै राजीनामा दिने सोचमा देखिनुभयो’, डोल्पा १ प्रदेशसभा २ का नेकपा सांसद वीरबहादुर शाहीले भने ।

डोल्पाको विकास निर्माणमा केन्द्रित रहेर मंगलबार राज्यमन्त्रीको कार्यकक्षमा बुढासँग नेकपाका नेताहरूले छलफल गरेका थिए । ‘हामीबीच जिल्लाको विकासमा केन्द्रित रहेर पनि छलफल चल्यो’, प्रदेशसभा सांसद शाहीले  भने । राज्यमन्त्री बुढाले ७ गते गृहजिल्ला जाने कार्यक्रम रहेको जानकारी दिए । उनले जनतासँग भेटघाटका लागि जिल्ला जान लागे पनि कार्यक्रमको तालिका भने बनि नसकेको उल्लेख गरे । ‘बिहीबार जिल्ला गई नेताकार्यकर्ता एवं जनतासँग भेटघाट गर्ने योजना छ, कार्यक्रमको सम्पूर्ण सेडुअल बनिसकेको छैन’, ।’

बुढाले राजीनामा दिएपछि सरकारले त्यस क्षेत्रमा उपनिर्वाचनका लागि निर्वाचन आयोगसँग आग्रह गर्नेछ । उपनिर्वाचनमा गौतमलाई उम्मेदवार बनाउने योजनामा नेकपा छ । गौतमलाई सांसद बनाउने विषयमा सोमबारको नेकपा सचिवालय बैठकमा समेत नेताबीचमा सामान्य कुराकानी चलेको थियो ।

Share.

Leave A Reply