चितवन, साउन ३१–
प्रेस काउन्सील नेपालले सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरण नतिजाप्रति नेपाल प्रेस युनियन चितवन गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्त मार्फत संचार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । प्रेस युनियन चितवनका कार्यवाहक अध्यक्ष पूर्णप्रसाद शर्माले निमित्त प्रमुख जिल्ला अधिकारी पन्तलाई ज्ञापन पत्र बझाए ।
युनियनका कार्यवाहक अध्यक्ष शर्माले पत्रपत्रिकाको वर्गीकरणमा राजनीतिक आग्रह, व्यक्तिगत पूर्वाग्रह हावी भएको भन्दै पूर्वाग्रही रुपमा प्रकाशन गरिएको नतिजा खारेज गर्दै पुनः पत्रपत्रिका वर्गीकरण नतिजा प्रकाशन गर्न माग गरे । नतिजा पुनः प्रकाशन नगरिए युनियन अझ कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । ज्ञापन पत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी पन्तले कुनै पनि सरकारी निकाय पारदर्शी रुपमा काम गर्नुपर्ने भन्दै कमीकमजोरी भए सबैले सच्याउनुपर्ने बताए । उनले युनियनको ज्ञापन पत्र सम्बन्धित निकायमा पठाईने बताए ।
ज्ञापन पत्र बुझाउन नेपाल पत्रकार महासंघ एवंम नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य सृजना अर्याल, प्रेस युनियनका केन्द्रीय सदस्य बसन्त पराजुली, युनियनका जिल्ला सल्लाहकार एवंम नेपाल पत्रकार महासंघका प्रदेश सदस्य इश्वरकुमार जोशी, युनियनका सल्लाहकार गणशेखर शर्मा, युनियनका पदाधिकारीलगायतको टोली पुगेको थियो ।
पत्रपत्रिका वर्गीकरण नतिजाप्रति आपत्ति जनाउँदै प्रेस युनियन चितवनले बुझायो ज्ञापन पत्र
0
Share.