play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

अनशनरत डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच हुने भनिएको वार्ता अन्योलमा 

0

साउन २ –  जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउनु पर्ने सरकारी अडानका कारण केसीका प्रतिनिधि र सरकारी टोलीबीच हुने भनिएको वार्ता अन्योलमा परेको छ ।

वार्ताका लागि केसी काठमाडौं आउनुपर्ने सरकारी अडान र काठमाडौं आउन संसद सचिवालयमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने केसीको मागका कारण टोली गठन भएको तीन दिनसम्म पनि वार्ता अघि बढ्न सकेको छैन । केसीले अध्यादेश अनुसार, विधेयक ल्याउनुपर्ने भन्दै नयाँ विधेयक मान्य नभएको बताउनुभएको छ ।

यसअघि सरकारले अस्ति सोमबार शिक्षा सचिव खगराज बरालको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । टोलीले सोही दिन रातीबाट वार्ता प्रक्रिया थालेपनि आ–आफ्नै अडानका कारण औपचारिक रुप भने लिन सकेको छैन । दुई चरणमा भएको वार्तामा एजेण्डा प्रवेश हुन सकेको छैन ।

डा. केसीका वार्ता प्रतिनिधि डा. अभिषेकराज सिंहले सरकार वार्तामा गम्भीर नदेखिएको र डा. केसीको जीवनरक्षालाई समेत वेवास्ता गरेकोले वार्ता अघि बढ्न नसकेको बताउनुभयो । सिंहले भन्नुभयो, ’उहाँहरु एउटै कुरामा अडिनुभयो, मुख्य एजेन्डामा प्रवेश गरेर मागबारे छलफल गर्नुपर्नेमा समेत गम्भीर हुनुभएन । मध्यमार्गी उपाय निकालेर लचकता देखाउनुपर्नेमा पेलेरै अघि बढ्छौं भन्ने मानसिकतामा उहाँहरु हुनुहुन्छ ।’ यद्यपी डा केसीसँग वार्ताका लागि पहल गरिरहेको र आज पनि साढे ९ बजेपछि वार्तामा बस्ने तयारी भइरहेको सरकारी वार्ता टोलीका एक सदस्यले जानकारी दिए ।

केसी पक्षबाट बैठकमा ठोस एजेण्डा प्रस्तुत नगरेको र विधेयक फिर्ताको मागमा अडान कायम राखेकाले छलफल एजेण्डामा प्रवेश हुन नसकेको ती सदस्यको भनाई छ । चिकित्सा शिक्षा सुधारको ७ बुँदे माग राख्दै डा.केसी १५ औँ पटक अनशनमा बस्नुभएको छ । प्रतिकुल मौसमका बीच डा. केसी जुम्लामा अनशन बसेको भन्दै सरकार रुष्ट छ । केसीको स्वास्थ्य अवस्था भने गम्भीर छ ।

Share.

Leave A Reply