play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

तीन पाङ्ग्रे सवारीलाई प्रमुख सडकमा चल्न रोक

0

 

 

शिव गौतम

श्रावण १, भरतपुर

भरतपुरको बजार क्षेत्रका प्रमुख सडकहरूमा अटोरिक्सा, इरिक्सा र टेम्पोहरूको चाप र अस्तव्यस्त सञ्चालनले बजार र ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको भन्दै महानगरपालिकाले तिनलाई प्रमुख सडकमा गुड्न रोक लगाएको छ । आज महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत नगर प्रमुख रेणु दाहालले सो जानकारी दिनुभएको हो । महानगरपालिकाले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा यही श्रावण ५ गतेदेखि बाइपास रोड, पूर्वपश्चिम राजमार्ग र नारायनागढ मुग्लिङ्ग सडकखण्डमा तीन पाङ्ग्रे सवारी साधन सञ्चालनलाई नियन्त्रित र व्यवस्थित गर्न सो निर्णय गरिएको हो ।

बढ्दो सवारीको चाप र दुर्घटना न्यूनीकरण गर्न भित्री सडकहरूमा सर्वसाधारणको आवतजावतमा असर नपार्ने गरी इजाजत प्राप्त तीन पाङ्ग्रे सवारीले महानगरले चुनेका चोकहरूबाट मात्र क्रस गरी सेवा उपलब्ध गराउन पाउने तर राजमार्गै राजमार्ग गरेर चल्न नपाउने भएका हुन् । क्रस गर्न छुट्याइएका चोकहरूमा बाइपास रोडतर्फ बसेनीचोक, विशाल चोक, नहर चोक, आन्तरिक राजस्व चोक, मालपोत चोक, हुलाक चोक र थानीचोक रहेका छन् भने पूर्वपश्चिम राजमार्गतर्फ लायन्स चोक, चेबिसकोठी चोक, रिजाल चोक र हाकिम चोक रहेका छन् । त्यसै गरी नारायणगढ मुग्लिङ्ग सडकखण्डतर्फ नारायणगढ बसपार्क चोक, युथ क्लब चोक र पुल्चोक (किचेन क्याफे नजिकैको चोक) बाट मात्र ती सवारीहरूले क्रस गर्न पाउने छन् ।

पत्रकार सम्मेलनमा जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी निरीक्षक वेद प्रसाद गौतमले हालसम्म महानगरमा ३००० को हाराहारीमा अटोरिक्साहरू गुड्ने गरेको बताउनुभयो । उहाँले यो आ.व. २०७४/७५ मा नियम मिचेर सवारी चलाउने अटोरिक्सा चालकहरूबाट मात्रै २९ लाख ६२ हजार रुपैयाँ जरिवाना उठेको जानकारी दिनुभयो । नगर प्रमुख दाहालले पछिल्ला दिनमा फुटपाथ व्यवस्थापन र पार्किङको सन्दर्भमा केही सफल भएको बताउनुभयो ।

Share.

Leave A Reply