play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

विश्व कप २०१८- जसको लागि बन्यो अन्तिम अन्तराष्ट्रिय खेल

0

रुसमा जारी विश्वकप फुटबलमा अब चार देश मात्रै बाँकी छन् । फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएसियाले उपाधि यात्रा कायम राख्नका लागि अन्तिम तयारी गरिरहेका छन् ।

तर यो विश्वकप फुटबलका केही लेजेण्डका लागि भने अन्तर्राष्ट्रिय फुटबलबाट बिदाईको गीत जस्तै बनेको छ ।

जाभिएर मास्चेरानो, अर्जेन्टिना


अर्जेन्टिनाका जाभिएर मास्चेरानो । सन् २००६ को जुन १० मा आइभरिकोस्टसँगको खेलबाट विश्वकप फुटबलमा डेब्यु गरेका मास्चेरानोले अन्तर्राष्ट्रिय फुटबलमा त्यो भन्दा तीन वर्षअघि अर्थात सन् २००३ को जुलाई १७ मा उरुग्वेसँगको खेलबाट गरेका थिए ।

त्यो खेलमा अर्जेन्टिना २–२ को बराबरीमा रोकिएको थियो भने विश्वकपमा उनले डेब्यु गरेको खेलमा भने अर्जेन्टिनाले आइभरिकोस्टलाई २–१ ले हराएको थियो ।

३४ वर्षका मास्चेरानोले राष्ट्रिय टोलीबाट १४५ खेल खेले । त्यसमा विश्वकपमा उनको खेल संख्या २० हो । उनले विश्वकपमा खेलेका २० मध्ये १२ खेलमा अर्जेन्टिना विजयी भएको थियो भने चार खेलमा बराबरी र चार खेलमा पराजित भएको थियो ।

उनले यो विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । रुसमा जुन ३० मा भएको फ्रान्ससँगको खेल नै उनको राष्ट्रिय टिमबाट अन्तिम खेल बन्यो ।

सन्यासको घोषणा गर्दै मास्चेरानोले भनेका थिए, ‘अब अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने समय आयो । आशा छ टिममा रहेका युवा खेलाडीले भविष्यमा केही पक्कै हाँसिल गर्ने छन् ।’

केसुके होण्डा, जापान


जापानका लेजेण्ड हुन्, होण्डा । उनले विश्वकपको डेब्यु खेलमा नै गोल गरेका थिए र उनकै गोलबाट जापानले जित निकालेको थियो ।

उनले सन् २०१० को विश्वकपमा जुन १० मा भएको क्यामरुनसँगको खेलबाट विश्वकपमा डेब्यु गरे । त्यो खेलमा ३९ औँ मिनेटमा उनैले गरेको गोलबाट जापानले १–० को जित निकाल्यो ।

होण्डाले अन्तर्राष्ट्रिय फुटबलमा भने त्यो भन्दा दुई वर्षअघि अर्थात सन् २००८ को जुन २२ मा बहराइनसँगको खेलबाट गरेका थिए । होण्डाले विश्वकपमा समग्रमा ११ खेल खेले । त्यसमा उनले चार गोल गरेका छन् ।

उनी खेलेका मध्ये तीन खेलमा जापान विजयी भएको छ भने तीन खेलमा बराबरी तथा पाँच खेलमा जापानले हार बेहोरेको छ । समग्रमा राष्ट्रिय टिमबाट ९७ खेल खेलेका उनले ३७ गोल गरेका छन् ।

रुस विश्वकपमा जुलाई २ मा बेल्जियमसँगको खेल उनको अन्तर्राष्ट्रिय स्तरमा अन्तिम खेल बन्यो । अन्तिम १६ अन्तर्गतको यो खेलमा जापान सुरुमा अग्रता लिएर पनि बेल्जियमसँग ३–२ ले पराजित भयो ।

जितबाट विश्वकप यात्रा सुरु गरेको होण्डाले नमिठो हारबाट यात्रामा बिट मारे । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्दै भने, ‘हामीसँग धेरै राम्रा युवा खेलाडी छन् । अब जापानको फुटबलमा नयाँ इतिहास लेख्ने उनीहरुको जिम्मेवारी हो ।’

आन्द्रेस इनिएस्टा, स्पेन


१२ वर्षअघि विश्वकप यात्रा सुरु गरेको आन्द्रेस इनिएस्टाको अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्तिम विन्दु नै रुस विश्वकप बन्यो । ३४ वर्षका आन्द्रेसले १२ वर्षअघि अर्थात सन् २००६ को जुन २३ मा साउदी अरेबियासँगको खेलबाट विश्वकपमा डेब्यु गरेका थिए ।

त्यो खेलमा स्पेन १–० ले विजयी भएको थियो । उनी त्यहि वर्ष नै स्पेनको राष्ट्रिय टिममा स्थान बनाएका थिए । उनले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको मिती सन् २००६ मे २७ हो । रुससँगको त्यो खेलमा स्पेन गोलरहित बराबरीमा रोकिएको थियो ।

विश्वकपमा इनिएस्टाले १४ खेल खेलेका छन् । त्यसमा उनले दुई गोल गरेका छन् । उनी खेलेका ८ खेलमा स्पेनले जित निकालेको छ । यस्तै तीन खेलमा बराबरी र तीन खेलमा हार बेहोरेको छ ।

विश्वकपमा उनको सम्झना लायक र बिर्सनै नसकिने अनुभव भनेको सन् २०१० को फाइनल हो । नेदरल्याण्डससँगको फाइनलको ११६ औँ मिनेटमा इनिएस्टाले गरेको गोलबाटै स्पेनले विश्वकपको उपाधि चुमेको थियो ।

राष्ट्रिय टिमबाट १३१ खेलमा १३ गोल गरेका इनिएस्टाका लागि रुस विश्वकपमा जुलाई १ मा भएको खेल नै करिअरको अन्तिम अन्तर्राष्ट्रिय खेल बन्यो । अन्तिम १६ अन्तर्गतको यो खेलमा १–१ को बराबरी भयो । तर टाइब्रेकरमा आयोजक रुसले स्पेनलाई ४–३ ले हरायो ।

रुससँगको खेलबाट अन्तर्राष्ट्रिय खेलको सुरुवात गरेको इनिएस्टाका लागि रुससँगकै खेल अन्तिम बन्यो ।

इनिएस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिँदैगर्दा भनेका छन्, ‘सबै चिजको सुरुवात र अन्त्य हुन्छ । तर कहिले काहिँ बिदाई आफूले सोचेको वा चाहे जस्तो हुँदैन ।’

राफाएल मार्क्वेज, मेक्सिको


३९ वर्षको हुँदा पनि फिट रहेका राफाएल मार्क्वेजका लागि रुस विश्वकप बिदाईको मैदान बन्यो । १६ वर्षअघि अर्थात सन् २००२ को जुन ३ मा उनले विश्वकपमा डेब्यु गरेका थिए । उनको डेब्यु खेलमा मेक्सिकोले क्रोएसियालाई १–० ले हराएको थियो ।

उनले अन्तर्राष्ट्रिय फुटबलमा भने त्यो भन्दा धेरै अघि डेब्यु गरेका थिए, उनले सन् १९९७ को फेब्रुअरी ५ मा इक्वेडरसँगको खेलबाट राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । त्यो खेलमा मेक्सिको ३–१ ले विजयी भएको थियो ।

विश्वकपमा २० वटा खेल खेलेका उनले तीन गोल गरेका छन् । उनी खेलेका ८ खेलमा मेक्सिको विजयी भएको छ । यस्तै चार खेलमा बराबरी भएको छ भने ८ खेलमा हार बेहोरेको छ । उनी पाँचवटा विश्वकपमा सहभागी हुने तेस्रो खेलाडी हुन् ।

उनका लागि रुस विश्वकपमा अन्तिम १६ अन्तर्गत ब्राजिलसँगको खेल अन्तर्राष्ट्रिय स्तरमा अन्तिम बन्यो । यो खेलमा मेक्सिको २–० ले पराजित भयो । उनले मेक्सिकोका लागि १४६ खेलमा १९ गोल गरेका छन् ।

मार्क्वेजले सन्यासको घोषणा गर्दै भनेका छन्, ‘अहिलेलाई मैले केही स्वतन्त्र समय बिताउने बेला आयो जस्तो लाग्छ । भविष्यमा पक्कै पनि म फुटबलमै काम गरिरहेको हुनेछु ।’

Share.

Leave A Reply