play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

इमेल र इन्टरनेटको कारण पछिल्लो समय हुलाक प्रयोग गर्नेको संख्यामा कमि

0

असार २४, कुनै बेला सूचना र सन्देश आदानप्रदानको मुख्य माध्यम बनेको हुलाक केही वर्षदेखि केही सरकारी चिठीपत्र र पार्सलको काममा सीमित भएको छ । जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख नेत्रविलास पन्तले चितवनको हुलाकमा व्यक्तिगत चिठीपत्रको आदानप्रदान शून्य भएको बताए । बाटोको चोकचोकतिर चिठीपत्र संकलन गर्ने उद्देश्यले राखिएका पोष्ट बक्सहरु पनि विस्तारै हटाउने तरखरमा जिल्ला हुलाक कार्यालय लागेको उनले बताए ।विसं २०२३ सालबाट पत्रकारिता सुरु गरेका ७५ वर्षीय अग्रज पत्रकार गणशेखर शर्मालाई त्यतीबेलाको हुलाक सेवाको महत्व अहिले सपना जस्तै लागेको छ । उनले तत्कालीन समयमा हुलाकबाट वा विमानबाट प्लेनमा खाममा बन्द गरेर समाचार पठाउँने गर्दथे । उनले पठाएका समाचार छिटोमा एक हप्तामा छापिने गर्दथ्यो । घरायसी र व्यक्तिगत खबर, साथीहरुलाई हेलो हाई भन्ने काम सबै चिठीबाट नै हुने गर्दथ्यो ।चितवनको पहिलो रेडियो कार्यक्रम प्रस्तोता मनोज घिमिरेका अनुसार विसं २०५८ सालमा सिनर्जी एफएममा उनले ‘कथा यो मेरो मुटुको’ नामको कार्यक्रम चलाउँदा बोराका बोरा चिठी आउने गर्दथ्यो तर अहिले उनका कार्यक्रममा हस्तलिखित चिठी आउने क्रम शून्यमा झरेको छ । इमेल, एसएमएस, फेसबुकले हस्तलिखित चिठीपत्रलाई पूर्णतया बिस्थापित गरेको छ ।
हुलाक सेवाको आधुनिकीकरणको बहस स्थानीय तहमा मात्र नभएर राष्ट्रियस्तरमा पनि निकै लामो समयदेखि निकै ठूलो बहस हुँदै आइरहेको विषय हो । राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हुलाक सेवा अब परम्परागत ढंगले चल्न नसक्ने भएकाले यसलाई आधुनिक व्यवस्थापनका लागि गठित कार्यदलले काम अघि बढाएको जानकारी दिएका छन् । हुलाकलाई आधुनिक टेली सेन्टरको रुपमा विकास गर्ने भन्ने बहस धेरै वर्ष अघिदेखि चले पनि यसको कार्यान्वयन हुन सकेको छैन । चिठीपत्रको आदानप्रदान ह्वात्तै घटे पछि परम्परागत शैलीले चल्ने हुलाक कार्यालय र तीनका कर्मचारीहरुको सामाजिक भूमिकामाथिनै आजभोलि प्रश्न चिन्ह लागेको छ ।जिल्ला हुलाक कार्यालय चितवनमा १६२ जना कर्मचारी कार्यरत छन् । सन् १९३५ देखि नेपालमा व्यक्तिगत सूचना आदानप्रदान गर्ने उद्देश्यले हुलाक सेवाको स्थापना भएको थियो । नेपालको सबै जिल्लामा जिल्ला हुलाक कार्यालय , ८४२ वटा इलाका हुलाक कार्यालय र ७४ वटा अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन् ।

Share.

Leave A Reply