play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

फ्रान्स र उरुग्वे -पूर्व विश्वविजेताबीच रोमाञ्चक भिडन्त

0

असार २२, पूर्व विश्व विजेता द्वय उरुग्वे र फ्रान्स २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा आज राति प्रतिस्पर्धा गर्दैछन्। प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनालाई पराजित गरेको फ्रान्स र पोर्चुगललाई हराएको उरुग्वेबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ।

दुई टिममा क्लब फुटबलमा सँगै खेलेका फुटबलर छन्। स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजम्यान र लुकास हर्नान्डेज (फ्रान्स) ले डिएगो गोडिन र जोसे गिमिनेज (उरुग्वे) विरुद्ध खेल्छन्। यस्तै पिएसजीका केलियन एमबाप्पे र इडिन्सन काभानी पनि आपासमा भिड्दैछन्। एमबाप्पेले जारी प्रतियोगितामा ३ गोल गरिसकेका छन्। २ गोल गरेका काभानी भने पोर्चुगल विरुद्धको खेलमा घाइते भएका थिए। त्यसलै उनी फ्रान्सविरुद्ध खेल्छन् वा खेल्दैनन् स्पष्ट छैन।

जारी प्रतियोगितामा सबै खेल जितेको उरुग्वेले अहिलेसम्म १ गोल मात्र खाएको छ। समूह चरणमा एक खेलमा बराबरीमा रोकिएको फ्रान्सले अर्जेन्टिना विरुद्धको अन्तिम १६ को खेलमा उत्कृष्ट खेल पस्किएको थियो।

उत्कृष्ट फरवार्डको साथ पाएको फ्रान्स विश्वकपमा दक्षिण अमेरिकी टिमसँग हारेको छैन। दक्षिण अमेरिकाका टिमसँग ९ खेलसम्म अपराजित फ्रान्स अब दसौं खेलमा पनि जित निकाल्दै अन्तिम ४ को यात्रा गर्न चाहन्छ। अर्जेन्टिनालाई हराएपछि फ्रान्सले अभ्यास सत्रमा कडा मेहनत गरेको छ। शारीरिकसँगै चतुरताका साथ खेल्ने फ्रान्सको रणनीति हुनेछ।

यता प्रशिक्षक डिडिएर डेस्चाम्सले फ्रेन्च टिमलाई केन्द्रित भएर खेल्न भनिरहेका छन्। ‘हामी आफ्नो खेलमा केन्द्रित हुनुपर्छ। काभानीले टिममा भए वा नभए फरक पर्दैन,’ काभानी घाइते हुँदा फ्रान्सलाई खेल्न सजिलो हुने तर्कमा उनले भनेका छन्। फ्रान्सका लागि अब टिममा ब्लासी माटुइडीको स्थान कसलाई खेलाउने निर्णय लिन कठिन छ। माटुइडी दोस्रो खेलमा लगातार पहेँलो कार्ड पाएका कारण उरुग्वे विरुद्धको खेल गुमाउँदैछन्।

पछिल्ला ६ विश्वकपमा अन्तिम ८ मा पुगेको उरुग्वे अन्तिम नकआउट चरणमा चुक्दै आएको छ। त्यसैले अब उरुग्वेले खराब रेकर्ड तोड्न हरप्रयास गर्नेछ। फ्रान्सविरुद्ध कठिन खेल हुने विश्लेषण गरेको उरुग्वेले ४–४–२ को फर्मेसनमा खेल्नेछ। प्रशिक्षक ओस्कार ताबारेजका लागि अहिले काभानी फिट हुन्छन् या हुन्नन् भन्ने चिन्ता थपिएको छ। काभानी खेल्न नसके भएमा अग्रपंक्तिमा लुइस सुआरेजसँग क्रिस्टियन स्टुवानी खेल्नेछन्।

सम्भावित टिम 
उरुग्वे :  फर्नान्डो मुस्लेरा, मार्टिन ककेरेस, जोस मरिया गिमेनेज, डिएगो गोडिन, डिएगो लाक्सल्ट, नहिटान नान्डेज, लुका तोरेइरा, माटियस भेसिनो, रोन्द्रिगो बेन्टाकुलर, लुइस सुआरेज, इडिन्सन काभानी/ क्रिस्टियन स्टुवानी

फ्रान्स : हुगो लोरिस बेन्जामिन पभार्ड राफायल भारान स्यामुयल उम्टिटी लुकास हर्नान्डेज एलगोलो कान्टे पाउल पोग्बा केलियन एमबाप्पे एन्टोनी ग्रिजम्यान कोरेन्टिन लोसिसो ओलिभर जिरुड

Share.

Leave A Reply