२१ असार, मगंलबार राति इंग्ल्याण्डविरुद्धको खेलमा पेनाल्टीमा चुकेका कोलम्बियाका दुई खेलाडीहरुलाई आक्रोशित समर्थकहरुले सामाजिक सञ्जालमा अश्लील गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका छन् ।विश्वकपको नकआउट चरणको खेलमा इंग्ल्याण्डविरुद्धको नाटकीय पेनाल्टीमा गोल गर्न चुकेका कोलम्बियाका माटेस उरिबे र कार्लोस बाक्कालाई उग्र समर्थकहरुले अपमानजनक सन्देशसहित घर नफर्किन चेतावनी दिएका हुन् ।सामाजिक सञ्जालबाट दिइएका यस्ता धम्कीपछि ती खेलाडीहरु त्रसित बनेका छन् । उरिबेको पेनाल्टी क्रसबारमा लागेर बाहिरिएको थियो भने बाक्काको प्रयास इंग्ल्याण्डको जीतमा नायक बनेका गोलकिपर जोर्डन पिकफोर्डले विफल बनाइदिएका थिए ।सामाजिक सञ्जालमा पोस्ट भएका धेरैजसो धम्की बाक्कालाई लक्षित गरिएको छ । ती उग्र समर्थकहरुका अनुसार बाक्काको पेनाल्टी कामै नलाग्ने थियो ।
सामाजिक सञ्जालमा उनीहरुलाई देश नफर्किन चेतावनी दिँदै बरु रुसमै आत्महत्या गर्न भनिएको छ ।जापानविरुद्धको पहिलो खेलमा गम्भीर गल्ती गर्दै तीन मिनेटमै बाहिरिएका कार्लोस साञ्चेजलाई पनि यस्तै धम्की दिइएपछि प्रहरीले छानबीन गरिरहँदा बाक्का र उरिबेमाथि पनि यस्तो धम्की आएको हो ।धेरै उग्रसमर्थकहरुले बाक्का र उरिबेलाई आन्द्रेस इस्कोबारको हत्याको भएको २४ वर्षपछि उनीहरुलाई पनि त्यसरी नै हत्या गर्न चाहेको लेखेका छन् ।सन् १९९४ को विश्वकपमा समूह चरणको दोस्रो खेलमा इस्कोबारले अमेरिकी मिडफिल्डर जोन हाक्र्सको क्रसलाई ब्लक गर्नेक्रममा बल डिफ्लेक्ट भएर आत्मघाती गोल भएपछि कोलम्बिया २–१ को हार बेहोर्दै विश्वकपबाट बाहिरिएको थियो ।आत्मघाती गोल गरेर कोलम्बियालाई विश्वकपबाट हराएको भन्दै विश्वकपबाट बाहिरिएको पाँच दिनपछि मेडेलिनमा उनीमाथि गोली हानी हत्या गरिएको थियो ।उग्र समर्थकहरुले गालीगलौजसहित धम्कीपूर्ण सन्देश पोस्ट गरेकोमा केही समर्थकहरुले भने आपत्ति जनाउँदै खेलाडीहरुलाई त्यस्तो भन्न नहुने पनि लेखेका छन् ।
इंग्ल्याण्डविरुद्धको खेलमा पेनाल्टीमा चुकेका कोलम्बियाका खेलाडीहरुलाई ज्यान मार्ने धम्की
0
Share.