असार ११ – मलेसियाको पेनाङस्थित पया र्टेवोङमा कामदार बोकेको बस आज बिहान दुर्घटना हुदाँ कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन् । बसमा ६० जना कामदार सवार थिए ।
प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार चढेको बस सडकमा पल्टिएको हो । स्थानीय समय अनुसार बिहान साढे ५ बजे बस दुर्घटना भएको हो ।
उनीहरुको पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेर उपचार गराईरहेका दाङका सागर मगरले अधिकांशको टाउको, हात र खु्ट्टामा चोट लागेको बताउनुभयो ।
प्रत्यक्षदर्शी झापाका सागर उप्रेतीका अनुसार घटना लगत्तै मलेसियाको उद्धार टोली आएर अस्पताल लगेको थियो । उप्रेतीले केहीको अवस्था गम्भीर भएपनि अधिकांश सामान्य अवस्थामा रहेको जानकारी दिनुभयो ।
प्लेकसस् अमेरिकी कम्पनी हो । विद्युतीय सामान उत्पादन गर्ने यो कम्पनीमा नेपाली मात्रै एकहजार भन्दा बढी कार्यरत छन् । उनीहरुले ओभरटाइससहित झन्डै १७ सय रिंगेटसम्म कमाउने गरेका छन् ।