वैशाख २४ । राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०७५ मा संशोधन प्रस्ताव दर्ता गर्न बुधबार दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।आज बसेको राष्ट्रियसभा बैठकमा समितिका सदस्यहरुले मस्यौदामाथि फरक मत राखेपछि संशोधन प्रस्ताव दर्ता गर्न दुई दिनको समय दिइएको हो ।बैठकमा नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सदस्यको पदावधिको विषयमा गोलाप्रथा प्रणालीको प्रक्रिया, अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई अनुरोध गर्दा अपनाउनुपर्ने प्रक्रिया, कार्यसूचीका विषयमा असहमति राखेका छन् ।यस्तै, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका सांसदहरुले पनि नियमावलीलाई सर्वस्वीकार्य बनाउन माग गर्दै सदस्यहरुको पदावधिको विषयमा मस्यौदामा राखिएको व्यवस्थाको विरोध गरे ।
सत्तारुढ दलका सांसदहरुले भने मस्यौदामा गरिएका व्यवस्थाको समर्थन गरेका छन् ।प्रतिपक्ष दलका सांसदहरुको असहमतिपछि मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले नियमावलीमा सबैका धारणा समावेश गर्ने आश्वासन दिएका थिए ।यसअघि, सभापति गुरुङले मस्यौदा समितिको प्रतिवेदन २०७५ माथि विचार गरियोस् भनी प्रस्तुत् गरेको प्रस्तावलाई बहुमतले पारित गर्दै संशोधन दर्ता गर्न दुई दिनको समय दिएको हो ।राष्ट्रियसभाको अर्को बैठक बुधबार ३ बजे बस्ने जनाइएको छ ।
राष्ट्रियसभा नियमावली मस्यौदाः संशोधन प्रस्ताव दर्ता गर्न दुई दिनको समय
0
Share.