हुनेखाने र हुँदा खानेबीचको सम्बन्ध ‘मितेरी कार्यक्रम’

0

बैशाख १८, चितवनको कालिका नगरपालिकास्थित विकट गाउँ शक्तिखोर, लटौली, सम्फर्याङ तथा मैतेशका चेपाङलाई खानेपानीको साह्रै सकस थियो । बालबालिकालाई कापी, कलम र झोला किन्नसमेत चेपाङलाई समस्या हुन्छ ।

नारायणगढका फेन्सी व्यवसायीले उनीहरुको समस्या बुझेर  दुई हजार ३०० मिटर खानेपानी पाइप उपलब्ध गराए । स्थानीय सुकमान प्रजाको घर जलेकाले उनको घर छाउनका लागि २० पाता जस्ता पनि सहयोग भयो । बालबालिकालाई स्टेशनरी पनि सहयोग गरे ।

चेपाङले पनि व्यवसायीलाई आफ्नो उत्पादन रहेको अमृसोको कुचो उपहार दिए भने उनीहरुले खाने गिठाको स्वाद समेत चखाए । व्यवसायीले चितवन मेडिकल कलेज, भरतपुर सामुदायिक अस्पताल र नेशनल सिटी अस्पतालको सहकार्यमा यहाँ चेपाङको स्वास्थ्य परीक्षण कार्यक्रमसमेत सञ्चालन गरे ।

यसरी हुनेखाने र हुँदाखानेबीचको यो सम्बन्ध विस्तारको काम भने ‘मितेरी कार्यक्रम’ले जुराएको हो । फेन्सी व्यवसायी संघ र फेन्सी बचत तथा ऋण सहकारीले विगत छ वर्षदेखि मितेरी कार्यक्रम चलाएको छ ।

नहुने वर्ग र हुने वर्गबीचको खाडल कम गर्दै आपसी सहयोग आदानप्रदान गर्नका लागि यसरी मितेरी साइनो गाँसेर उपहार कार्यक्रम चलाउँदै आएको बताउनुहुन्छ, संघका प्रवक्ता विवेक कँडेल ।

यसअघि सोही चेपाङ गाउँमा चारवटा कार्यक्रम गरेर स्थानीय समुदायलाई संघले सहयोग गर्दै आएको थियो । “हामीले सम्बन्ध विस्तार र सहयोग आदानप्रदानका लागि यसरी मितेरी कार्यक्रम गरेका हौँ, कार्यक्रम संयोजक कृष्ण कँडेल भन्नुहुन्छ, सोमबार खानेपानी पाइप, कापीकलम, जस्तापाता मितलाई उपहार हो ।”

कार्यक्रममा करीब रु आठ लाख ५० हजारको सहयोग भएको कँडेल बताउनुहुन्छ । बालबालिकालाई झोला कापी कलमसहित ब्रस, मञ्जन, साबुन, बिस्कुट, चाउचाउसमेत व्यवसायीले उपहार दिए ।

चितवनको राप्तीमा प्यारामोटर उडाउन सफल सरोज चेपाङको मिनी जहाज उडाउने लक्ष्य पूरा गर्न सोही क्रममा रु ११ हजार सहयोगसमेत गरिएको छ ।

Share.

Leave A Reply