सम्पूर्ण राज्यशक्तिको ध्यान अहिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा केन्द्रित

0

भदौ १०, नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलगायत सम्पूर्ण राज्यशक्तिको ध्यान अहिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको छ ।नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तेस्रो चरणमा १३६ स्थानीय तहमा आगामी असोज २ मा निर्वाचन हुन लागेको हो । प्रदेश नं २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह कायम भएका छन् ।मुलुकमा हाल ७५३ स्थानीय तह कायम रहेकामा त्यसमध्ये महानगरपालिका छ, उपमहानगरपालिका ११, नगरपालिका २७६ हाल मुलुकमा छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ र गाउँपालिकाको संख्या ४६० रहेको छ ।उक्त निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनबाट ७७–७७ प्रमुख र उपप्रमुख, ५९–५९ अध्यक्ष र उपाध्यक्ष, एक हजार २७१ वडाध्यक्ष तथा महिला, दलित र खुला गरी पाँच हजार ८४ वडा सदस्य निर्वा्चित हुनेछन् ।निर्वाचनको परिणाममा कसले बाजी मार्ने भन्ने विषयमा चुनावी रणनीति बनाउन अहिले राजनीतिक दल अत्यन्तै व्यस्त छन् । स्थानीय तहको निर्वाचनका सन्दर्भमा त्यस क्षेत्रका जिल्लामा यही भदौ ७ गतेदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ भने निर्वाचन अधिकृतको कार्यालय सोमबारदेखि खुल्नेछ ।निर्वाचनका लागि आयोगले भदौ २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तथा भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम बनाएको छ ।नेपालको संविधानका केही अन्तरवस्तुप्रति विमति जनाउँदै आन्दोलन चलाउँदै आएको राष्ट्रिय जनता पार्टीले पनि आफ्नो सम्पूर्ण साधन, स्रोत र शक्ति अब स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरिसकेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सरकारले त्यस क्षेत्रको शान्ति सुरक्षाको व्यवस्थालाई चुस्त तुल्याउन नेपाली सेनाको समेत संलग्नता रहने व्यवस्था मिलाएको छ ।

Share.

Leave A Reply