play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

ओबरमा सहभागी मुलुकसँग सहकार्य गर्न नेपाल इच्छुक-उपराष्ट्रपति पुन

0

असार २२, उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालले चीनबाट अघि सारिएको एक पेटी एक मार्गलाई नेपाल–चीन कनेक्टिभिटी र पूर्वाधार सुधारको एक महत्वपूर्ण अवसरको रूपमा लिएको बताएका छन्।

आज कान्सु अन्तर्राष्ट्रिय कन्फेरेन्स तथा एक्जिविसन केन्द्रमा २३औं चीन–लान्चौ लगानी तथा व्यापार मेलालाई सम्बोधन गर्दै उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको एक पेटी एक मार्ग अवधारणाले राम्रो प्रगति हासिल गरेको र चीनले आवश्यकताअनुरूप समयानुकूल प्रयास सुरू गरेको बताए। उनले भने, ‘आर्थिक रूपान्तरणका लागि सीमापार सञ्जाल र प्राकृतिक श्रोतको सदुपयोग गर्न लगानी, प्रविधि र दीर्घकालीन सहकार्यको लागि बेल्ट एण्ड रोडमा समेटिएका मुलुकहरूसँग अनुभव आदानप्रदान गर्न नेपाल इच्छुक छ।’

बेल्ट एण्ड रोड इनिसियटिभ्सको अवधारणाले शान्ति, सहकार्य, खुलापन, समावेशी जस्ता साझा एजेण्डालाई प्राथमिकतामा राखेको बताउँदै यसले कनेक्टिभिटीलाई बढाएर व्यापार, लगानी, पर्यटन, जनस्तरमा घनिष्ठ सम्बन्ध तथा साझा अभिरूचीका मुद्धाहरूलाई प्रवर्द्धन गरेकोले तीव्र आर्थिक वृद्धि, सामाजिक-आर्थिक विकासमा समान समृद्धि हुने अपेक्षा उनले व्यक्त गरे। सबै साझा लक्ष्यका लागि रेलमार्ग, स्थलमार्ग र हवाइमार्गबाट एकअर्कामा जोडिनु तथा निरन्तर अन्तर्क्रियाको संयन्त्र बनाउनु जरूरी रहेको र यसबाट मात्रै वास्तविक परिवर्तन देख्न सकिने उनले बताए।

उपराष्ट्रपति पुनले विश्व बैंकको नेपाल प्रक्षेपणदेखि लगानीका लागि वातावरण निर्माण गरिएका उदाहरण प्रस्तुत गरेर हाइड्रोपावर र पर्यटन प्रमुख लगानीका क्षेत्र भएको सुझाए। चीनले सन् २०१७ लाई नेपाल पर्यटन प्रवर्द्धन वर्षको रूपमा लिएर धेरैभन्दा धेरै पर्यटक नेपाल पठाएर सहयोग गर्ने विश्वास व्यक्त गरे। हाल नेपालमा स्थानीय चुनाव भइरहेको र भविष्यमा बाँकी प्रदेश तथा संसदको चुनाव सम्पन्न भएपछि नेपालको लक्ष्य सामाजिक–आर्थिक रूपान्तरणमा केन्द्रित हुने र त्यतिखेर पर्याप्त लगानी चाहिने सहभागी लगानीकर्ताहरूसमक्ष बताए।

नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध पञ्चशीलमा आधारित हार्दिक र सहअस्तित्वमा उभिएको तथा नेपालले एक चीन नीतिको समर्थन गरेको उनले बताए। साथै नेपाली भूमिलाई चीनविरूद्ध प्रयोग हुन नदिने बताउँदै उनले नेपालको सार्वभौमिकताको सम्मान गर्ने चिनियाँ नीतिको पनि प्रशंसा गरे।

कान्सु प्रान्त प्राचीन रेशमी मार्गको एक भाग मात्रै नभएर पश्चिम चीनको एक व्यापारिक तथा पारवहन हब भएको भन्दै उपराष्ट्रपति पुनले गत वर्ष नेपालको काठमाडौँ र कान्सुको लान्चौ सहरबीच भगिनी सम्बन्ध स्थापित भएपछि आपसी सम्बन्ध जनस्तरमा विकसित भएको बताए।

पुनले नेपाल चीनबीच उच्चस्तरीय राजनीतिक आदान प्रदानले सम्बन्ध अझ राम्रो बन्दै गएको कुरा गत मार्चमा नेपालका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोआउ एसियाली फोरममा सहभागिता जनाएको र चिनियाँ राष्ट्रपति सी जिनफिङसँग बेइजिङमा भेटवार्ता गरेबाट पुष्टि भएको बताए। नेपालमा गएको २०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणमा ३ अर्ब आरएमबीभन्दा बढी चिनियाँ सहयोगको पुनले प्रशंसा गरे।

गत वर्ष कुन्मिङमा भएको चीन दक्षिण एशिया एक्स्पोमा सहभागी हुन चीन भ्रमण गरेका उपराष्ट्रपति पुन दोश्रो पटक सोही प्रकृतिको व्यापार मेलामा सहभागी हुन चीन भ्रमणमा आएका हुन्।

Share.

Leave A Reply