असार ६ । नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टीको समझदारीमा नै २ नम्बर प्रदेशको निर्वाचन सारिएको बताउनुभएको छ ।आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राजपाले २ र ५ नम्बर प्रदेशको निर्वाचन सार्न माग गरेको भएपनि कानुनी समस्याका कारण २ नम्बर प्रदेशको मात्रै स्थानीय तहको निर्वाचन असोजमा सारिएको बताउनुभयो ।दोस्रो र तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा काँग्रेस पहिलो शक्ति हुने दाबी गर्दै नेता निधिले असार १४ गतेको निर्वाचन प्रारम्भ भइसकेकाले कसैको तागतले रोक्न नसक्ने समेत बताउनुभयो ।एक फरक प्रसङ्गमा बोल्दै नेता निधिले भरतपुर महानगरपालिका–१९ को पुनः मतदान गर्न सर्वोच्चले रोक्न नहुने बताउनुभयो । निर्वाचन आयोगले पुनः मतदान गर्ने भनिसकेकाले अब सर्वोच्च अदालत संवैधानिक आयोगको निर्णयविरुद्ध जान नसक्ने उहाँले बताउनुभयो ।सर्वोच्चको निर्णय आइसकेपछि कुनै पनि समयमा वडा नम्बर १९ को मतदान हुने भन्दै उहाँले निर्वाचनमा जुट्न सबैलाई आग्रह समेत गर्नुभयो । रासस
राजपाकै समझदारीमा निर्वाचन सारिएको – नेता निधि
0
Share.