play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सेनाबाट अवकाशपछि साईकल मर्मत पसल

0

वसन्त ढुंगाना
चितवन, २७ चैत । शारदानगरका सुरेशकुमार गुरुङ भारतमा हुर्के, बढे । मुस्लिम समुदायमा हुर्केका उनले साईकल मर्मत गर्न पनि सिके । तर त्यहाँ साईकल मर्मतको काम भने गर्न पाएनन् । भारतीय सेनाबाट अवकाश पाएपछि गुरुङले शारदानगरमा आएर साईकल मर्मत पसल खोलेका छन् ।
तीन सय रुपैयाँमा साईकल मर्मत पसल खोलेका गुरुङ यो पेशालाई आफ्नो जीवनकै राम्रो पेशा ठान्छन् । ‘मैले शारदानगरमा साईकल पसल खोल्दा यहाँ कतै साईकल पसल थिएनन् । साईकल मर्मत गर्न नारायणगढसम्म आउनुपथ्र्यो । त्यो दुःख सम्झेर पसल खोलेको हुँ । यस पेशाबाट छोराछोरी पढाएको छु’ फूर्तीसाथ गुरुङले भने, ‘मेरो पेन्सन एक दिन बुझे सकियो यसले केही पनि हुँदैन ।’
उनले दैनिक चार हजार रुपैयाँ आम्दानी गर्ने गरेको बताए । नयाँ साईकल बेच्न गाउँघरमा गाह्रो हुने उनले बताए । ‘अहिले मैले साईकल मर्मत गर्दागर्दै भात खाने फुर्सद हुँदैन । ६६ बर्षीय गुरुङले भने, ‘यो पेशा मलाई छोड्न मन लाग्दैन । अझै १० वर्ष यही पेशा गर्छु ।’
पटिहानीका ६५ बर्षीय कृष्ण डुम्रकोटी साईकलका ट्यूब र टायरसंग खेल्न थालेको ३५ वर्ष पुग्यो । त्यतिबेला लंकुमा रहेको खरेल पसलबाट छ सय रुपैयाँमा साईकल मर्मत सामग्री ल्याएर व्यवासाय सरु गरेका डुम्रकोटीले राम्रै आम्दानी गरेका छन् । ’मलाई पहिले परिवार पाल्न निकै गाह्रो थियो । त्यतिखेर जम्मा दुई कठ्ठा जमिनमात्र थियो । अन्य पेशा केही थिएन’ तनहुँबाट चितवन झरेको बताउने डुम्रकोटीले भने, ‘अहिले दिनमा साईकल मर्मतबाट मात्रै दैनिक सात हजार रुपैयाँ आम्दानी हुन्छ ।’
उनले पटिहानीकै सुन्दरचोकमा साईकल मर्मत पसल खोलेका छन् । साईकल मर्मत गर्दै आएका उनले यसलाई बिस्तार गर्दै पाँच वर्षदेखि नयाँ साईकल बिक्री गर्छन् । अहिलेसम्म ८ लाख रुपैयाँ लगानी पुगेको उनले बताए । उनले यही पेशाबाट छोराछोरीलाई हुर्काए, पढाए । अहिले २५ कठ्ठा जमिन समेत जोडेका उनले पहिले साईकलको बिक्री राम्रै भएपनि अहिले साईकलको माग क्रमशः घट्दै गएको बताए ।
२०३० सालमा खैरहनीका गोपाल श्रेष्ठले साईकल किने तर साईकल मर्मत गर्ने ठाउँ भने थिएन । साईकल मर्मत गर्नका लागि १२ किलोमिटर हिँडेर टाँडी आउनुपथ्र्यो । त्यो दुःख सम्झेर २०३१ सालबाट उनले साईकल मर्मत पसल खोले । ‘नारायणढमा मात्र साईकल स्टोर्स थियो । त्यहीबाट लगेर बेच्थेँ’ उनले भने, ‘पाँच सयको लगानीमा साईकल मर्मत पसल खोलेको हुँ ।’
दाह्री सबै सेता भैसकेका श्रेष्ठले अझै साईकल मर्मत गर्न छाडेका छैनन् । उनले अहिले पनि दैनिक पाँच सय रुपैयाँ आम्दानी गर्छन् । यही पेशाबाट परिवार धानेका उनी खुसी देखिन्छन् । ‘मेरो यो पेशाबाट परिवार पालिएका छन् । छोराहरुलाई पढाएँ’ उनले भने, ‘अब बाँचुन्जेल यही काम गर्छु ।’
कुनै समय साईकलको प्रयोग अत्याधिक हुने चितवन जिल्लामा पछिल्लो समय भने साईकलको प्रयोग कम भएको पाइन्छ । आधुनिक सवारी साधानको प्रयोगसंगै साईकलको प्रयोगमा कमी आएको हो । मानिसहरुले साईकल प्रयोगकर्तालाई हेयको दृष्टिले हेर्दा पनि साईकल प्रयोग गर्ने मानिसहरु घट्दै गएको चितवन साईकल व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष धर्मराज सापकोटा बताउँछन् ।
‘पहिले चितवन छोरीले साईकल चलाउन नजाने विवाह हुँदैन भन्ने जिल्ला हो । बिस्तारै साईकलको प्रयोग हराउँदै गएको छ । मान्छेहरु आर्थिक रुपमा सम्पन्न भएपछि साईकललाई छोडेर मोटरसाईकल चलाउन लागेको अवस्था छ’ उनले भने, चितवनमा पहिलेको तुलनामा बच्चाको साईकल र माउन्टेन साईकल बढी बिक्री हुन्छ ।’ उनले अहिले देखासिखिको कारणले गर्दा पनि चितवनमा साईकल नचढ्ने गरेको बताए ।
दीर्घ जीवन, वातावरण संरक्षण र इन्धन बचतका लागि साईकलको प्रयोग अति नै महत्वपूर्ण मानिन्छ । चितवनमा दुई सय ६५ वटा साईकल मर्मत तथा बिक्री पसल रहेका छन् । नेपालमा वार्षिक २५ हजार साईकल बिक्री हुने गरेको चितवन साईकल व्यवसायी संघको तथ्याङ्कमा उल्लेख छ ।
चितवन साईकल व्यवसायी संघका निवर्तमान अध्यक्ष तुलसी भण्डारी पहिलेको तुलनामा अहिले साईकल व्यवसाय घट्दै गएको बताउँछन् । ‘चितवनमा केही समय अघिसम्म साईकलको आवश्यकता थियो । अहिले चितवनमा साईकल शोखको रुपमा मात्र चलाइरहेको अवस्था छ । पाँच वर्ष अगाडिसम्म लेडिज साईकल बिक्री हुन्थ्यो । अहिले त्यो पनि बिक्री हुने अवस्था छैन’ उनले भने, ‘बजार आर्थिक सबल भएर स्कुटी, मोटरसाईकल, अटो रिक्साको कारण साईकलको माग धेरै छैन ।’

Share.

Leave A Reply