२५ चैत – दोलखाको डाँङडुँगे डाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ । मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ मा रहेको डाँङडुँगे डाँडामा चलचित्र नगरी आयोजना निर्माण गरी सञ्चालन गर्न चलचित्र विकास बोर्डलाई लिखित निर्देशन दिएको छ ।
आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६ दशमलब २५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका एकसय चारवटा रूखबिरुवा हटाउन मन्त्रिपरिषद्ले स्वीकृतिसमेत दिएको छ । मन्त्रिपरिषदको निर्णयपछि वन विभागले तत्काल जिल्ला वन कार्यालय, दोलखालाई कार्यान्वयन अगाडि बढाउन निर्देशन दिएको चलचित्र नगरीका अभियन्ता मदनदास श्रेष्ठले जानकारी दिनुभयो ।
ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण दोलखामा निर्माण गर्न लागिएको फिल्म सिटी नेपालकै पहिलो हो। चलचित्र नगरी निर्माणका लागि लाकुरीडाँडा गाविसको सेतीदेवी दादर सामुदायिक वनले ७६ दशमलब २५ हेक्टर जमिनको भोगाधिकार प्रदान गरिसकेको छ ।