चैत ०९,
निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सामग्री मतदान अधिकृतलाई मतदान केन्द्रमा खटाएसँगै पठाउने प्रबन्ध मिलाएको जनाएको छ । आयोगले यस निर्वाचनमा कुल ६७ प्रकारका निर्वाचन सामग्री आवश्यकपर्ने सूची बनाएको हो ।
आयोगले नेपालमा उपलब्ध हुने र मुलुकबाहिरबाट आयात गर्नुपर्ने गरी दुई प्रकारका सामग्रीको जोहो गर्न लागेको आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।
निर्वाचनमा मतपेटिका, औंलामा चिह्न लगाउने नउड्ने मसी भएको मार्कर पेन, पित्तलको स्वस्तिक चिह्न छाप, स्टाम्प प्याड र स्टाम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैंची, निर्वाचनसम्बन्धी ऐन, नियम, निर्दे्शिका, कार्ड, कपडाको थैलो, मतदान कक्षको छेकवारा, फारामलगायत सामग्री आवश्यकपर्ने आयोगले जनाएको छ ।
कुल ७४४ स्थानीय तहको निर्वाचनका लागि ७५ मुख्य निर्वाचन अधिकृत र ६६९ निर्वाचन अधिकृतको नेतृत्वमा ७४४ ओटा कार्यालय स्थापना गरिने भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय आगामी वैशाख ३ गतेभित्रै स्थापना गर्ने आयोगको तयारी छ । त्यहाँ ६ हजार ८४६ जना कर्मचारी खटिनेछन् । प्रत्येक मतदान केन्द्रमा पाँचजना कर्मचारी र तीनजना स्वयंसेवक खटिनेछन् ।
आयोगले स्थानीय तह निर्वाचनमा ७४४ ओटा स्थानीय तहका लागि ३६ हजार ६३९ पदमा निर्वाचन गराउने तयारी अघि बढाएको छ । स्थानीय तह निर्वाचन ऐनअनुसार यस निर्वाचनबाट चार महानगरपालिका, १३ उपमहानगरपालिका र २४६ नगरपालिकामा एक प्रमुख र एक उपप्रमुख गरी जम्मा ५२६ जना निर्वा्चित हुनेछन् ।
त्यसैगरी, ४८१ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी ९६२ जना निर्वा्चित हुनेछन् । मुलुकभरका ६ हजार ६८० वडाबाट त्यतिकै संख्यामा वडाअध्यक्ष र प्रत्येक वडाबाट चारजनाका दरले गरी जम्मा २६ हजार ७२० वडा सदस्य निर्वा्चित हुने आयोगको कानुन तथा राजनीतिक दल शाखाका शाखा अधिकृत घमचन्द्र तिम्सिनाले बताउनुभयो ।
आयोगमा मतदाता नामावलीलाई यही चैत २० गतेसम्म अन्तिमरुप दिने तयारीका साथ प्रशोधनको काम भइरहेको छ । करिब एक करोड ४० लाख मतदाताको संख्या हुने आयोगको अनुमान छ ।
आयोगले आजसम्म ५७ जिल्लामा मतदान केन्द्र रहने पूर्ण विवरण आइसकेको जनाएको छ । निर्वाचन आयोगमा ११३ ओटा राजनीतिक दल दर्ता भएका छन् ।
स्थानीय तहमा मतदान अधिकृतसँगै मतदान सामग्री पठाइने
स्थानीय तहमा मतदान अधिकृतसँगै मतदान सामग्री पठाइने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु