चितवनको स्थानीय तह निर्वाचनमा ५०४ जनप्रतिनिधि निर्वाचित हुने भएका छन् । दलित र अल्पसंख्यकबाट थप २० जना मनोनित गरेपछि जिल्लामा जनप्रतिनिधिहरुको संख्या ५ सय २४ पुग्नेछ ।
चितवनमा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका छन् । । चितवनमा २४ राजनीतिक दलले निर्वाचन कार्यालयमा नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवनमा ३ लाख १५ हजार ९३९ मतदाता छन् । यसअघि संविधानसभाको दोस्रो निर्वाचनमा जिल्लामा दुई लाख ७३ हजार ८०३ जना मतदाता थिए ।
आजभन्दा झण्डै १९ वर्ष अघि २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा २ लाख ४१ हजार २६ मतदाता थिए ।
१९ वर्षको अवधिमा चितवन जिल्लामा वालिग मतदाताको संख्या करिब ७४ हजार ९१५ ले बढेको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले दुई ठाउँबाट फोटोसहितको नामावली दर्ता गराएकाहरुको नाम एक ठाउँमा मात्र कायम गरिने हुँदा मतदाता संख्या केही घट्नसक्ने बताए ।
यसपटकको स्थानीय तहको निर्वाचनका लागि करिब १८ मतदान केन्द्र थप्ने तयारी गरिएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा जिल्लाका एक सय ४१ स्थानमा ३ सय ७८ मतदान केन्द्र थिए ।
स्थानीय तहको प्रत्येक नगर र गाउँपालिकाबाट एक जना प्रमुख, एक जना उपप्रमुख तथा प्रत्येक वडाबाट एकजना अध्यक्ष र एक महिलासहित चार जना सदस्य निर्वाचित हुने व्यवस्था छ । नगरमा तीन जना तथा गाउँमा दुई जना दलित र अल्पसंख्यकबाट मनोनित गर्नुपर्ने व्यवस्था छ ।
जिल्ला निर्वाचन कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिकामा मात्रै १४७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् भने तीन जना मनोनित हुनेछन् । २९ वटा वडा भएको यस महानगरपालिकामा १ लाख ५१ हजार ६ सय ४१ मतदाता छन् ।
हालैमात्र महानगरपालिका बनेको भरतपुरमा चित्रवन नगरपालिका, नारायणी नगरपालिका र कविलास गाउँ विकास समिति गाभिएका छन् ।
रत्ननगर नगरपालिकामा १६ वडा वडा छन् जसमा तीन मनोनितसहित ८५ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । रत्नननगर नगरपालिकामा ४३ हजार ६ सय ५० मतदाता छन् ।
खैरहनी नगरपालिकामा १३ वटा वडा छन् जसमा तीन मनोनित सहित ७० जना प्रतिनिधि निर्वाचित हुनेछन् । खैरहनीमा ३३ हजार पाँच सय ८३ मतदाता छन् ।
१३ वटै वडा रहेको राप्ती नगरपालिकामा पनि तीन मनोनित सहित ७० जना प्रतिनिधि हुनेछन् । राप्तीमा ३० हजार २ सय ८ मतदाता छन् ।
११ वटा वडा रहेको कालिका नगरपालिकामा तीन मनोनितसहित ६० जना जनप्रतिनिधि चुनिने छन् । कालिकामा २३ हजार २ सय ४६ मतदाता छन् ।
जिल्लाको निकुञ्जपारी रहेको माडी नगरपालिकामा नौ वटा वडा छन् । जसमा तीन मनोनित सहित ५० जना जनप्रतिनिधि हुने भएका छन् । माडीमा २१ हजार ८ सय ९२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
जिल्लाको पहाडी क्षेत्रमा रहेको काउले, दारेचोक, चण्डिभञ्ज्याङ र दाहाखानी गाविसलाई मिलाएर बनाइएको इच्छाकामना गाउँपालिकामा ७ वडा छन् । जसमा दुई जना मनोनितसहित ३९ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । इच्छाकामनामा ११ हजार ७ सय १७ मतदाता छन् ।