play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

स्थानीय तहको निर्वाचनमा पुरुषसँग प्रतिस्पर्धा नगराउन महिलाको आग्रह

0

चितवन । स्थानीय तहको निर्वाचनमा पुरुषसंग प्रतिस्पर्धा नगराउन महिला अगुवाहरुले राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
सञ्चारिका समूह चितवनले बिहीबार चित्रवन नगरपालिकामा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । ‘स्थानीय निकायमा ४० प्रतिशत महिला सहभागिताको प्रावधान सरकारले ल्याएको छ । त्यसमा राजनीतिक दलहरुले महिलालाई हराउनको लागि पुरुषसंग प्रतिस्पर्धा गराउँछन्’ महिला अगुवा आशा गुरुङले भनिन्, ‘महिलालाई नेतृत्व तहमा नै ल्याउने हो भने महिलालाई महिलासँगै प्रतिस्पर्धा गराउनु पर्दछ ।’
जुनसुकै समयमा महिलाको अधिकारका लागि कुरा गरेपनि लागु हुन नसकेको गुरुङले बताइन् । महिलाले आंफूलाई हरेक कोणबाट सक्षम र सबल नेतृत्वको रुपमा अगाडि सार्ने बेला भएको भन्दै उनले महिला नेतृत्वलाई अगाडि बढाउन राज्य तयार हुन नसकेको बताइन् । राजनीतिक क्षेत्रमा नेतृत्वदायी स्थानमा आउन नसक्दा अझै पनि महिलाहरु ओझेलमा परिरहेको उनको भनाई थियो ।
‘अहिलेको निर्वाचनमा पनि सरकारले आरक्षण सिट त छुट्याएको छ, तर नेतृत्व तहमा महिलालाई हराउनका लागि महिलासंग पुरुषलाई लडाउने हुन कि भन्ने चिन्ता थपिएको छ’ चित्रवन नगरपालिकाकी महिला अगुवा सुर्यकला अधिकारीले भनिन्, ‘एउटा राजनीतिक दलले महिला उठाएको स्थानमा पुरुषलाई उम्मेदवार बनाउन हुँदैन । यस्तो भयो भने महिला नेतृत्व तहमा आउन सक्दैनन् ।’
स्थानीय निकाय जनप्रतिनिधिविहीन भइरहेको अवस्थामा आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन तोकिएको छ । ‘स्थानीय तहमा महिलाको सक्रिय सहभागिता बढाउनको लागि मेयर वा उपमेयरमा अनिवार्य महिला हुनुपर्ने प्रवधान गरेको छ’ दलित अगुवा स्वस्तिका परियारले भनिन्, ‘महिलालाई नेतृत्व तहमा ल्याउनको लागि महिलाको पनि नेतृत्व विकास गर्नु पर्छ ।’ जहाँ भन्यो त्यही छाप लगाउने महिलालाई नेतृत्व तहमा ल्याएर महिलाको विकास नहुने उनले बताइन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी सरिता केसीले महिलाहरु आंफै पनि निर्वाचनमा सक्रिय भएर अगाडि बढ्न आवश्यक रहेको बताइन् । चित्रवन नगरपालिकाका प्रमुख रामचन्द्र अर्यालका अनुसार, स्थानीय निर्वाचनमा महिला सहभागिता बढाउन नगरपालिका पनि लागेको छ ।
एक सय सातौँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा सांसद रामकृष्ण घिमिरे प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै उनले महिलालाई नेतृत्व तहमा ल्याउनको लागि आरक्षण सिट ल्याइएको बताए । महिलाहरुको हक सुनिश्चित गर्नका लागि सरकार प्रतिवद्ध रहेको उनले बताए ।
महिला समानताको लागि आधार सीपयुक्त हात र स्वरोजगार भन्ने नाराका साथ गरिएको कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि शालिकराम पौडेल, नेकपा एमालेका सिद्धिप्रसाद पराजुली, नेकपा माओवादी केन्द्रकी सरिता ढकाल, राप्रपाका रामविक्रम ठकुरी लगायतले  बोलेका थिए ।
उनीहरुले महिला सहभागिता ४० प्रतिशत गराउन आंफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।  सञ्चारिका समूह चितवनकी सहसचिव करुणा देवकोटाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम अध्यक्ष सृजना अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply