play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

विद्युत महसुल संकलन दुई सिफ्टमा

0

वसन्त ढुंगाना
चितवन, १ चैत्र । भरतपुर विद्युत प्राधिकरण वितरण शाखाले विद्युत महशुल संकलनको सेवा अवधि बढाएको छ ।
चैत एक गतेदेखि लागु हुने गरी विद्युत काउन्टर दुई सिफ्टमा सञ्चालन हुने भएको हो । भरतपुर विद्युत प्राधिकरण वितरण शाखाका ईन्जिनियर राजेन्द्र पौडेलका अनुसार मंगलबारबाट बिहान आठ बजेदेखि दिउँसो तीन बजेसम्म महसुल संकलन काउण्टर खुल्ला हुनेछ । यसअघि १० बजेदेखि दिउँसो दुई बजेसम्म विद्युत महशुल काउन्टर खुल्ने गरेको थियो । ‘सेवाग्राहीको सहजताको लागि हामीले बिहान दुई र दिउँसो एक घण्टा गरी तीन घण्टा समय बृद्धि गरेका छौँ’ पौडेलले भने, ‘मंगलबारदेखि यहाँको भीडभाड कम हुन्छ ।’
विद्युत महशुल काउन्टरमा धेरै लाईन बस्नु पर्ने गुनासो जिल्ला प्रशासनमा पुगेपछि प्रशासनले बिहानैदेखि विद्युत महशुलको काउण्टर खुल्ला गर्न निर्देशन दिएको हो । शुक्रबार भने बिहान आठदेखि दिउँसो एक बजेसम्म काउन्टर खुल्ने पौडेलले जानकारी दिए । यस केन्द्रमा ६८ हजार छ सय ९१ ग्राहक रहेका छन् । जसमध्ये घर परिवारका लागि प्रयोग गर्ने ग्राहक ६१ हजार ४३, व्यापारिक ग्राहक छ सय २०, औद्योगिक ग्राहक एक हजार दुई सय ३२, गैरसरकारी ग्राहक तीन हजार ९९ सय, सिँचाईका पाँच हजार ग्राहक रहेका छन् ।
यति धेरै सेवाग्राही रहेपनि छ वटा मात्र महशुल काउन्टर छन् । केन्द्रको अव्यवस्था र ढिलासुस्तीका कारण हजारौ सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।  विद्युत महशुल बुझाउन केन्द्रमा आएकी क्षेत्रपुरकी सरस्वती कतिला विद्युत महशुल तिर्न घण्टाँै लाईन बस्नुपर्ने अवस्था आएको बताउँछिन् । ‘म जागिरे पनि भएको हिसाबले सधै यहाँ आउन सक्दिन । ठ्याक्क समय मिलाएर आयो । एकदम लाईनमा बस्नुपर्ने, टाईम नै दिन नसक्ने । लाईनमा बस्दा अफिस जान ढिला हुन्छ अनि बिचैमा जानुपर्ने अवस्था छ । जसले गर्दा सधै जरिबाना तिर्नु पर्छ’ उनले भनिन्, ‘विद्युत महशुल तिर्दा लाईमा बस्नुपर्ने अवस्था छ । हामीलाई धेरै गाह्रो भएको छ ।’
विद्युत महशुल तिर्दा एक जना ग्राहक तीन घण्टासम्म लाईनमा बस्नुपर्ने उनले बताईन । ‘विद्युत समयमा आउँदैन, लाईन काटिने गर्छ । महशुल तिर्न जाँदा एक दिन ढिलो भएपनि दशदेखि २५ प्रतिशतसम्म जरिबाना लिनुहुन्छ’ उनले भनिन्, ‘विद्युत महशुल बुझाँउदा नम्बर अनुसारको तालिका बनाइदिए राम्रो हुन्छ ।’ उनले विद्युत महशुल काउन्टर थप गर्न समेत माग गरेकी छन् ।
ग्राहकको संख्यालाई मध्यनगर गर्दै भरतपुर वितरण केन्द्रले बैङ्क तथा अनलाईन पद्धतिबाट  विद्युत महशुल बुझाउन सकिने व्यवस्था गरेको छ । तर पनि ग्राहकहरुले यसको प्रयोग गरेको पाइँदैन । ‘हामीले दुई वर्षदेखि प्रभु बैंकमार्फत विद्युत महशुल बुझाउन सकिने व्यवस्था गरेका छौँ । तर हाम्रा ग्राहकहरु त्यसतर्फ आकर्षित छैनन्’ पौडेलले भने, ‘महिनामा ४० देखि ५० जनाले मात्र बैंकमार्फत् विद्युत महशुल बुझाउने गदर्छन् ।’
तीन महिनादेखि अनलाईनबाट पनि विद्युत महशुल बुझाउने व्यवस्था गरेको उनले बताए । ‘अहिले सबैको हातमा ईन्टरनेट छ । हाम्रा ग्राहकहरु प्रविधिको प्रयोग गर्दैनन्’ उनले भने, ‘महिनामा चारपाँच जानलेमात्र अनलाईनमार्फत विद्युत महशुल तिर्ने गरेको पाइन्छ ।’
भरतपुर विद्युत वितरण केन्द्रले माडी र भरतपुर महानगरपलिकाको क्षेत्रमा विद्युत सेवा पु¥याइरहेको छ । त्यस स्थानलाई मध्यनजर गर्दै गीतानगरमा र चनौलीमा दुई, दुई वटा विद्युत महशुल संकलन केन्द्र पनि स्थापना गरेको छ । त्यहाँबाट भरतपुर केन्द्रका सबै ग्राहकले विद्युत महशुल तिर्न सक्छन् । भरतपुर विद्युत विरतण केन्द्रका करिब ७० हजार ग्राहक रहेकोमा चनौलीमा २० हजार, गीतानगरमा १२ हजार ग्राहक रहेका छन् ।
विद्युत प्राधिकरणले ज्येष्ठ नागरिक र अशक्तहरुका लागि छुट्टै काउन्टर समेत स्थापना गरेको भरतपुर विद्युत प्राधिकरण वितरण शाखाका लेखा अधिकृत भगवान ढकालले जानकारी दिए । उनका अनुसार भरतपुर वितरण केन्द्रमा दैनिक तीन हजार सेवाग्राही आउने गर्दछन् । पछिल्लो समय भरतपुर विद्युत प्राधिकरण वितरणका कर्मचारी सरुवा भएको कारण महशुल केन्द्रमा भीड देखिएको उनले बताए । ‘माघ महिनामा कर्मचारी सरुवा भयो । नयाँ कर्मचारीले यहाँको सिस्टम बुभm्न कठिन हुन्छ । त्यस कारणले पनि यहाँ भीड देखिएको छ’ उनले भने, ‘एक महिनाभित्र विद्युत महशुल बुझाउँदा एक घण्टाभन्दा बढी लाईनमा बस्नु पर्दैन ।’
वक्यौतामा वृद्धि
भरतपुर विद्युत प्राधिकरण वितरण शाखाको विद्युत वक्यौतामा झन् वृद्धि हुँदै आएको छ । कात्तिक महिनामा २५ करोड रुपैयाँ विद्युतको वक्यौता रहेकोमा माघ महिनामा आएर २८ करोड भएको छ । नेपाल सरकारले वक्यौता रकम उठाउनका लागि अभियान नै थालेपछि भरतपुर वितरण केन्द्रमा भने समयमा विद्युत महशुल तिर्ने ग्राहकहरु बढ्दै गएका छन् ।
पौडेलका अनुसार ४१ हजार ग्राहकहले नियमित रुपमा विद्युत महशुल तिर्दैनन् । ‘हाम्रो विद्युत महशुलको संकलन घटेको छ । हामीले कर्मचारी सरुवाका कारण विद्युत महशुल नतिर्ने ग्राहकको लाईन काट्न जान सकिएन । अब चैत पहिलो हप्तादेखि विद्युत महशुल नतिर्ने ग्राहकको घरघरमा जान्छौँ’ उनले भने, ‘पुरानै अवस्थामा ल्याउँछौँ ।’ विगतमा एक करोड तीस लाखसम्म जरिबाना उठाएको उनले बताए ।
‘समयमा विद्युत महशुल नतिर्ने दुई हजार पाँच सय ग्राहकलाई गत वर्ष हिरासतमा समेत राखियो । त्यसलाई परिमार्जन गर्दै अहिले थोरै गरेका थियौँ’ उनले भने, ‘अहिले हाम्रो वक्यौता रकम वृद्धि हुँदै गएको छ । महशुल नतिर्ने ग्राहकको लाईन काट्छौँ ।’ उनका अनुसार, घरयासी प्रयोजनका ग्राहकबाट पाँच करोड ८६ लाख २९ हजार दुई सय नौँ रुपैयाँ, व्यापारिक ग्राहकबाट ६३ लाख ५४ हजार नौ सय ६९ रुपैयाँ, गैरसरकारी व्यापारिकबाट ९७ लाख ७३ हजार चार सय ८४, औद्योगिकबाट दुई करोड दुई लाख १९ हजार सात रुपैयाँ, सडक बत्तीको १७ करोड ४४ लाख ८५ हजार चार सय ६६ रुपैयाँ उठ्न बाँकी छ ।
यस्तै, सिँचाइका ग्राहकबाट १५ लाख ४० हजार तीन सय ८३ रुपैयाँ, खानेपानीको दुई लाख ४९ हजार चार सय तीन, मन्दिरबाट दुई लाख ३८ हजार तीन सय ७० रुपैयाँ अझै उठ्न बाँकी रहेको भरतपुर विद्युत प्राधिकरण वितरण शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । ६० दिनभन्दा बढी समयसम्म विद्युत महसुल नतिर्ने ग्राहकको विद्युत लाइन काटिने नेपाल विद्युत प्राधिकरणको नियम छ । लाइन काटिएका ग्राहकले वक्यौताको २५ प्रतिशत जरिबाना तिर्नु पर्दछ ।
मिटर रिडिङ गरेको दिनको सात दिनभित्र विद्युत महशुल बुझाउनेलाई तीन प्रतिशत छुट्ट दिने व्यस्था गरिएको छ । त्यस्तै २१ दिनदेखि ३० दिनभित्र महशुल बुझाउनेलाई पाँच प्रतिशत जारिवाना लाग्छ भने ३१ देखि ४० दिनभित्र महशुल बुझाउनेलाई १० प्रतिशत जरिवाना लाग्ने गर्दछ । भरतपुर वितरण केन्द्रबाट २८ करोड रुपैयाँ विद्युत महसुल उठ्न बाँकी छ । माघ १० गते सरकारले भरतपुर विद्युत प्राधिकरण वितरण शाखाबाट एकै पटक ५५ जनाको सरुवा र कर्मचारी अभावका कारण बक्यौता उठाउनमा समस्या भएको पौडेलले बताए ।
‘भरतपुर विद्युत प्राधिकरण वितरणमा एक सय ३० जनाको दरबन्दी हो । अहिले हामीकहाँ एक सय पाँच जना मात्र कर्मचारी हुनुहुन्छ’ उनले भने, ‘अहिले ५५ जना त भर्खर आउनुभएको छ । उहाँहरुले ठाउँ चिन्नु भएको छैन । जसले गर्दा विद्युत महशुल उठाउन समस्या परेको छ ।’

Share.

Leave A Reply