play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

चितवन राष्ट्रिय निकुञ्जभित्र शाकाहारी जनाबर बढेकाले घाँसे मैदान व्यवस्थापनमा चुनौती

0

फागुन ३० ,शाकाहारी जनाबर बढेपछि चितवन राष्ट्रिय निकुञ्जभित्र आवश्यक घाँसे मैदान व्यवस्थापन चुनौती बनेको छ । निकुञ्ज स्थापनाताका २० प्रतिशत घाँसे मैदान रहेकामा हाल आएर ९ दशमलब ६ प्रतिशतमा झरेकाले घाँस आवश्यक पर्ने गैँडा, चित्तल, जरायोजस्ता जनावरको सङ्ख्या थपिँदै जाँदा घाँसे मैदान व्यवस्थापन गर्दै बढाउनुपर्ने अवस्था सिर्जना भएको हो ।

निकुञ्जभित्र ४२५ वटा घाँसे मैदान छन् । निकुञ्जको कुल १० हजार ४९७ दशमलब २ हेक्टर क्षेत्रफल मध्ये भित्री भागमा आठ हजार ९५५ दशमलब २ हेक्टर र मध्यवर्ती क्षेत्रमा एक हजार ५४१ दशमबल ९ हेक्टर रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्याले बताउनुभयो ।

नौसय ३२ वर्गकिलोमिटर रहेको निकुञ्जमा ९ दशमलब ६ प्रतिशत भित्री भागमा र मध्यवर्ती क्षेत्रमा २ दशमलब ०६ प्रतिशत घाँसे मैदान रहेको देखिन्छ ।

घाँसे मैदानमा थेमेडा, नर्कट, दुबो, सिरु, काँस, कुशजस्ता घाँसका जात पाइन्छन् । हरेक वर्ष घाँस काट्ने, आगो लगाउने, घाँसे मैदानमा उम्रिएका रुखका पोथ्राहरु हटाउनेजस्ता कार्य गर्नुपर्छ । ठूलो क्षेत्रमा यी सबै काम व्यक्तिमार्फत गरिँदै आएकाले निकै खर्चिलो र समय लाग्ने गरेको छ ।

गतवर्ष कुल घाँसे मैदान भूभागको १ दशमलब २ प्रतिशतमात्रै व्यवस्थापन गर्न सकिएको अर्यालले बताउनुभयो । माइकेनिया नामक मिचाहा प्रजातिको झारले पनि घाँसे मैदानलाई घटाउँदै आएको छ । त्यसैगरी खयर, सिमलजस्ता रुखहरु फैलिएर पनि घाँसे मैदान साँघुरिने गर्दछ । निकुञ्ज हुँदै बग्ने नदीमा बाढी नआउँदा पनि नदी तटीय क्षेत्र वनमा परिणत हुँदा घाँसे मैदान घट्ने गरेको अर्यालले बताउनुभयो ।

घाँसे मैदान व्यवस्थापनका लागि घाँस काट्न उपकरण बनाउने अभियान पनि थालिएको छ । गतवर्षबाट घाँस काट्ने उपकरण बनाउन पुल्चोक इञ्जिनियरिङ कलेजले गृहकार्य सुरु गरेपनि हालसम्म उपकरण भने बनिनसकेको सूचना अधिकारीसमेत रहनुभएका अर्यालले बताउनुभयो । हाल घाँसे मैदान व्यवस्थापनका लागि स्काभेटरसमेत प्रयोग गर्न थालिएको छ । निकुञ्जमा घाँस खाने जनावर बढ्दै जाँदा घाँसे मैदान थप व्यवस्थापन गर्दै लैजानुपर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।

निकुञ्जभित्र राम्रो घाँसे मैदान नहुँदा जङ्गली जनावर बस्ती पस्ने समस्यासमेत देखापर्दै आएको छ । प्रमुख संरक्षण अधिकृत कँडेलले घाँसे मैदान व्यवस्थापन वैज्ञानिक पद्धतिबाट गर्न थालिएको र चर्को घाममा घाँसे मैदानमा चरिरहेको जनावरले शीतलता पाउनका लागि आवश्यक रुख पनि हुर्काइने बताउनुभयो । यस वर्ष टेन्डरमा नै घाँसे मैदान व्यवस्थापनका लागि प्राविधिक दक्षता हासिल गरेका समूहको माग गरिएको कँडेलले बताउनुभयो ।

Share.

Leave A Reply