फागुन ३० – तराईका जिल्लामा सोमबार धुमधामसँग फागु अर्थात होली पर्व मनाईंदैछ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानैदेखि सुरु भएको छ ।
वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यस पर्वमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ ।
होली मनाइने तराईका जिल्लाहरुमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा भने आइतबार होली मनाइएको थियो । तराईका बासिन्दाको बसोबास रहेका काठमाडौंसहित पहाडी क्षेत्रका कतिपय ठाउँमा सोमबार पनि होलीको रौनक छ ।
यसैबिच महानगरीय प्रहरी परिसरले होलीका अवसरमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने दुई सय १३ जनालाई पक्राउ गरेको छ ।
परिसरबाट खटिएको टोलीले आइतबार उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल गर्दै हिँडेका उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिनुभयो । उहाँले घटनाका दोषीको छानविन भइरहेको र दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताउनुभयो ।