play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

चितवनबाट पाँच गैंडा शुक्लाफाँटा लगिँदै, शुक्लाका बाह्रसिंगा चितवनमा

0

फागुन २९,
वन मन्त्रालयले चितवन निकुञ्जबाट ५ वटा एकसिंगे गैंडा शुक्लाफाँटा निकुञ्ज लाने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले चैत १४ गतेदेखि शुक्लाफाँटामा गैंडा स्थानान्तरण सुरु गरिने जानकारी दिनुभयो ।
विभागले वन्यजन्तु संरक्षणका सहयोगी संस्थाहरू डब्लूडब्लूएफ नेपाल र हरियो वन कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र जुलोजिलक सोसाइटी अफ लन्डन नेपाल (जेडएसएल नेपाल) को आर्थिक तथा प्राविधिक सहयोगमा गैंडा, अर्ना र बाह्रसिंगालगायतका वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ । यी गैंडा स्थानान्तरणमा पनि ती संस्थाले सहयोग गर्नेछन् ।
एनटीएनसीका गैंडा विज्ञ डा. नरेश सुवेदीका अनुसार यसअघि सन् २००३ मा चितवनबाट ४ वटा गैंडा शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो । शुक्लाफाँटामा अहिले १० गैंडा छन् । त्यतिबेला चितवनबाट गैंडा लानुअघि त्यहाँ जम्मा एउटा गैंडा थियो ।
चितवन निकुञ्जको सुखीभार क्षेत्रका गैंडा डार्ट (लठ्याएर) ट्रकमा राखेर शुक्लाफाँटा निकुञ्जको घाँसे मैदानमा लगेर छाडिनेछ । गत वर्षको फागुनमा पनि सुखीभार क्षेत्रबाट तीन भाले र दुई पोथीसहित ५ गैंडा बर्दिया निकुञ्जको बबई उपत्यका लगिएको थियो । तीमध्ये एक भाले गैंडा बिरामी भएर मरेको छ । दुई वटा पोथीले बच्चा जन्माएकोमा एउटा बच्चा माघ १ गते बाघले मारिदिएको छ । समय र मौसमले साथ दिए यो वर्ष पनि बबईमा गैंडा स्थानान्तरण गर्ने कार्यक्रम रहेको उपमहानिर्देशक भट्टराईले बताए ।
डब्लूडब्लूएफ नेपालका विज्ञ डा. कञ्जन थापा बर्दिया र शुक्लालाई गैंडाको दोस्रो बासस्थान बनाउन स्थानान्तरण आवश्यक भएको तर्क गर्छन् ।
अर्का गैंडा विज्ञ डा. शान्तराज ज्ञवाली एक ठाउँमा मात्र भएका वन्यजन्तुलाई हावापानी र बासस्थान मिल्ने अन्य विभिन्न स्थानमा पनि छर्न सके तीनको वंश विस्तार हुन सक्ने र प्राकृतिक विपद्बाट समेत दुर्लभ वन्यजन्तु बाँच्न सक्ने बताउँछन् ।
यसैबिच
विभागले गैंडा स्थानान्तरणपछि शुक्लाफाँटा निकुञ्जबाट २५ वटा बाह्रसिंगा चितवन निकुञ्ज ल्याउने भएको छ ।
चितवन निकुञ्जका सूचना अधिकारीसमेत रहेका सहायक वार्डेन नुरेन्द्र अर्यालले शुक्लाबाट ल्याइएका बाह्रसिंगा निकुञ्जको पदमपुरमा ल्याएर छाडिने बताए । यसअघि कोसीटप्पु वन्यजन्तु आरक्ष र चिडियाखानाबाट १५ अर्ना पनि पदमपुरमा ल्याइएको छ ।
गत वर्ष शुक्लाफाँटाबाट ५ वटा बाह्रसिंगा बर्दिया निकुञ्जको बबईस्थित बघौराफाँटामा ल्याएर छोडिएको डा. सुवेदीले बताए ।

Share.

Leave A Reply