फागुन २९ – पाँच दिनदेखिको बन्द फिर्ता भएपछि सप्तरीको जनजीवन आइतबारदेखि सामान्य बन्दै गएको छ ।
गएको सोमबार नेकपा एमालेको मेची–महाकाली अभियान कार्यक्रम अन्तर्गत सप्तरीको गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर पाँच जनाको ज्यान गएपछि त्यहाँ तनाव थियो ।
ज्यान गुमाएका पाँचै जनालाई शहीद घोषणा, उनीहरूका परिवारलाई क्षतिपूर्ति, परिवारको एक सदस्यलाई सरकारी जागिर र घाइतेको उपचार खर्च सरकारले नै बेहोर्ने सहमति भएपछि जनजीवन सामान्य बन्न थालेको हो । आइतबार विद्यालय, बजार, कारखाना र यातायातका साधन खुलेका प्रहरीले जनाएको छ ।