भरतपुर अब महानगरपालिका, चितवनमा सात स्थानीय तह

0

वसन्त ढुंगाना
चितवन, २८ फागुन । सरकारले चितवनमा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका हुने गरी स्थानीय तहको संरचना घोषणा गरेको छ ।
स्थानीय विकास विकास मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको जानकारी अनुसार, साविक भरतपुर उपमहानगरपालिका, चित्रवन, नारायणी नगरपालिका र कविलास गाविसलाई जोडेर भरतपुर महानगरपालिका भएको छ । भरतपुर महानगरपालिकामा २९ वटा वडा रहने छन् । महानगरपालिकामा दुई लाख ८० हजार पाँच सय दुई जनसंख्या हुनेछन् । चार सय ३२ दशमलव ९५ वर्गकिलोमिटरमा महानगरपालिका बन्नेछ ।
भरतपुर उपमहानगरपालिका साविकका २९ वटा वडा १६ वटा वडामा खुम्चिएका छन् । साविक भरतपुर उपममहागरपालिकाका एक र तीन नम्बर वडा गाभेर वडा नम्बर एक, दुई नम्बर वडा यथावत राखिएको छ । चार नम्बर वडालाई तीन नम्बर, पाँच र छ नम्बर वडालाई चार नम्बर, १३ र १४ वडालाई पाँच नम्बर, २१ र २२ वडालाई छ नम्बर वडा बनाइएको छ ।
सात, आठ, नौ, दश, ११ र १२ वडालाई यथावत राखिएको छ । २० र २८ वडालाई १३ नम्बर, २४, २५ र २९ वडालाई गाभेर १४ नम्बर, १५, १९ र २३ वडालाई १५ नम्बर तथा १६ र १८ नम्बर वडालाई १६ नम्बर वडा बनाइएको छ । यस्तै, साविक चित्रवन नगरपालिकालाई पाँच वटा वडामा झारिएको छ । चित्रवन नगरपालिकाका साविक एक, दुई र ११ वडालाई १७ नम्बर, सात, नौ र दश वडालाई १८ नम्बर, तीन, चार र छ वडालाई १९ नम्बर तथा पाँच र आठ वडालाई २० नम्बर वडामा राखिएको छ ।
साविक नारायणी नगरपालिकामा पाँच वटा वडा परेका छन् । नारायणीको सात र नौ वडालाई २१ नम्बर, भरतपुरको २६ र २७ वडालाई २२ नम्बर, नारायणीको १० र ११ वडालाई २३ नम्बर, १२ नम्बर वडालाई २४ नम्बर, चार र छ वडालाई २५ नम्बर, चित्रवनको १४ र १८ वडालाई २६ नम्बर, नारायणीको दुई र तीन वडालाई २७ नम्बर, एक नम्बर वडालाई २८ नम्बर वडा बनाइएको छ । यस्तै साविक काविलास गाविसको एकदेखि नौ नम्बर वडालाई २९ नम्बर वडामा राखिएको छ ।
रत्ननगर नगरपालिकालाई १८ वडाबाट १६ वटा वडामा झारिएको छ । एक, दुई, तीन, चार नम्बर वडालाई यथावत नै राखिएको छ । १९, १८, १७ र पाँच क्रमशः पाँच, छ, सात र आठ नम्बर वडा भएका छन् । छ र सात नम्बर वडालाई गाभेर नौ नम्बर वडा बनाइएको छ । साविक आठ नम्बर वडालाई दश र दश नम्बर वडालाई ११ नम्बरमा पारिएको छ । नौ र ११ वडालाई गाभेर १२ नम्बर वडा बनाइएको छ । १२, १३ नम्बर वडालाई गाभेर १३ नम्बर वडा निर्माण गरिएको छ । १४, १५ र १६ वडालाई यथावत राखिएको छ ।
साविक कालिका नगरपालिका र सिद्धि गाविसका छ वटा वडालाई जोडेर कालिका नगरपालिका बनाइएको छ । उक्त नगरपालिकामा ११ वटा वडा रहेका छन् । ४१ हजार सात सय ४२ जनसंख्या रहेको छ । साविक कालिका नगरपालिकाका आठ, नौ ११, १० र १२ नम्बर वडा क्रमशः एक, दुई, तीन, चार र पाँच नम्बर वडा भएका छन् । छ र सात वडालाई छ नम्बर, पाँचलाई सात, तीन र चार वडालाई आठ नम्बर तथा एक र दुई वडालाई नौ नम्बर वडामा राखिएको छ । साविक सिद्धि गाविसका दुई सात र नौ नम्बर वडा १० नम्बर तथा एक, तीन र छ वडालाई ११ नम्बर वडा बनाइएको छ ।
साविक खैरहनी नगरपालिकालाई १६ वडाबाट १३ वटा वडामा झारिएको छ । एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ र नौ नम्बर वडालाई यथावत नै राखिएको छ । १४ र १५ वडालाई मिलाएर १० नम्बर वडा भएको छ । १६ नम्बर वडालाई ११ नम्बर, १० र ११ वडालाई १२ नम्बर, १२ र १३ वडालाई १३ नम्बर वडा बनाइएको छ ।
३७ हजार छ सय ३८ जनसंख्या रहेको माडी नगरपालिकामा साविकका १२ वटा वडा घटेर नौ वटा भएका छन् । माडीमा साविकको एक र तीनलाई वडा नम्बर एक बनाइएको छ । त्यस्तै दुई, पाँच, चार र छ नम्बर वडा क्रमशः दुई, तीन, चार र पाँच नम्बर वडा भएका छन् । आठ र नौ वडालाई गाभेर छ नम्बर, सात र १० वडा गाभेर सात नम्बर वडा बनाइएको छ । ११ र १२ नम्बर वडा क्रमशः आठ र नौ भएका छन् ।
साविक राप्ति नगरपालिका, कोराक र लोथर गाविस मिलेर राप्ति नगरपालिका भएको छ । ५७ हजार एक सय सात जनसंख्या रहेको राप्तिमा १३ वटा वडा रहेका छन् । साविक राप्ति नगरपालिकाका एक र दुई वडालाई एक नम्बर, तीन, चार, आठ र पाँच नम्बर वडा क्रमशः दुई, तीन, चार र पाँच नम्बर वडा भएका छन् । छ र सात वडालाई गाभेर छ नम्बर, नौ वडालाई सात नम्बर, १० र ११ वडालाई आठ नम्बर र १२ नम्बर वडालाई नौ नम्बर वडा बनाइएको छ ।
साविक कोराक गाविसका पाँच, आठ र नौ वडालाई गाभेर १० नम्बर, एक, तीन र सात वडा गाभेर ११ नम्बर, साविक लोथर गाविसका एक र तीन नम्बर वडालाई १२ नम्बर, ४ र नौ वडालाई १३ नम्बर वडा बनाइएको छ ।
चितवनमा पाँच नगरपालिका र एक गाउँपालिका कायम गरिएको छ । रत्ननगर, कालिका, राप्ती, खैरहनी र माडी नगरपालिका रहेका छन् । एउटामात्र इच्छाकामना गाउँपालिका रहेको छ । इच्छाकामना गाउँपालिकामा साविकका गाविस दारेचोक, चण्डीभञ्ज्याङ, काउले र दाहाखानी रहेका छन् । २५ हजार १२ जनसंख्या रहेको गाउँपालिकामा सात वटा वडा रहेका छन् ।
एक सय ६६ वर्गकिलोमिटर रहेको इच्छाकामना गाउँपालिकाको केन्द्र साविक चण्डीभञ्ज्याङ गाविसको कार्यालय हुने राजपत्रमा उल्लेख गरिएको छ ।  साविक काउले गाविसको एक र चार नम्बर वडालाई एक नम्बर, साविक चण्डीभञ्ज्याङ गाविसको एक र चार तथा काउलेको नौ र पाँच वडा मिसाएर दुई नम्बर वडा बनाइएको छ । दारेचोकको एक, दुई, पाँच र नौ वडा मिलेर तीन नम्बर, दारेचोक गाविसको तीन नम्बर वडालाई चार नम्बर, चण्डीभञ्ज्याङ पाँच र दारेचोकको चार वडा मिलेर पाँच नम्बर वडा भएको छ । चण्डीभञ्ज्याङको छ र नौ तथा दाहाखानीको पाँच र छ वडा मिसाएर छ नम्बर वडा, दाहाखानीको एक, चार, सात र नौ वडालाई सात नम्बर वडा बनाइएको छ ।
भरतपुर महानगरपालिका राजपत्रमा प्रकाशित भएपछि शुक्रबार कार्यालयले महानगरपालिकाबाट सेवा सुरु गरेको छ । कार्यालयले एक कार्यक्रमको आयोजना गरी महानगरपलिकाको लेटरप्याडबाट काम सुरु गरेको हो । बोर्ड, लेटरप्याड र स्ट्याम्प परिवर्तन गरिएको भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले जानकारी दिए ।
शुक्रबारदेखि नै लागू हुने गरी जिल्ला विकास समिति कार्यालय विघटन भएको छ । जिल्ला विकास समितिबाट जिल्ला समन्वय समितिको कार्यालय भएको छ । उक्त कार्यालयले जिल्ला परिषदबाट पारित विकास निमार्णका कामहरु असार मसान्तसम्म गर्न पाउनेछ । नयाँ विकास निमार्णका कामहरु गर्न पाउँदैन ।

Share.

Leave A Reply