नेपाल विद्युत प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ हटाउने भएको छ। यो अभ्यास प्राधिकरणले परीक्षणको रुपमा अघि सार्ने जनाएको छ। मुलुकलाई लोडसेडिङमुक्त गर्न विभिन्न कार्ययोजना बनाउने क्रममा आगामी साता नयाँ अभ्यास थालनी गर्ने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए।
कुलेखानी आयोजना, हेटौंडाको १४ मेगावाट डिजेल प्लान्ट र दुहबी, सुनसरीको ३९ मेगावाट मल्टिफ्यूल प्लान्ट सञ्चालन गरेर भएपनि विजुली अभाव टार्ने तयारीमा प्राधिकरण लागेको उनले बताए।
यसबाट चैत ३ गतेदेखि सुरु हुने एसएलसी परीक्षाका विद्यार्थीहरुलाई निकै राहत पुग्ने देखिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नियुक्तिदेखि नै लोडसेडिङ हटाउने योजना अघि सारेका हुन्। गत तिहारदेखि राजधानीलाई लोडसेडिङमुक्त बनाएपछि उनले देशलाई नै लोडसेडिङमुक्त बनाउने योजना बनाएका छन्। राजधानीलाई लोडसेडिङमुक्त बनाएपछि राजधानीबाहिर पनि विजुली प्रवाह नियमित भइदिओस् भन्ने माग बढेको छ। नागरिक र ऊर्जा मन्त्री जनार्दन शर्माको उत्साहप्रद साथले उनी र प्राधिकरणका कर्मचारी हौसिएका छन्।
यसैबीच, प्राधिकरणले थप एक सय मेगावाट विजुली थपिदिन भारत सरकारसमक्ष अनुरोध पत्र पठाएको छ। अहिले भारतबाट ३ सय ९० मेगावाट विजुली भारतबाट आयात भइरहेको छ। ‘नेपाल र भारतबीच भएको सचिवस्तरीय बैठकको निर्णयानुसार थप विजुली आयातको लागि भारतलाई पत्राचार गरेका हौं,’ प्रवक्ता अधिकारीले जानकारी दिए।