play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

१५ देखि २९ उमेरकाको मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या

0

युवा उमेरमा हुने मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या रहेको बताइएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा कोशिश नामक संस्थाले आयोजना गरेको कार्यक्रममा यस्तो बताइएको हो । अयोजक संस्था कोशिशका कार्यक्रम अधिकृत लक्ष्मणनाथले १५–२९ उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या रहेको बताए । विश्वमा हुने मृत्युको भने १५ औं कारण आत्महत्या मानिन्छ ।

आत्महत्याबारे खुलेर कुरा नगर्दा र आत्महत्याको सोच, व्यवहार र प्रयासलाई गम्भीरतापूर्वक नलिँदा घटनामा वृद्धि भएको बताइएको छ । ‘आत्महत्याको ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या रहेको पाइन्छ तर यो समस्या कडा खालको नभएर सामान्य पनि हुन्छ। जसमध्ये ६० प्रतिशत डिप्रेशनका कारणले भएको अनुसन्धानले देखाएको छ,’ उनले भने ‘इंल्याण्डका मनो परामर्शदाता अडिसन अस्टुडिल्लोले आत्महत्याबारे कुरा गरे आत्महत्या गर्न उत्प्रेरित हुन्छ भन्ने भ्रम रहेकाले यस विषयमा खुलेर कुरा गर्न नसकेको बताए । उनले भने, ‘जति धेरै कुरा गर्याे, त्यति यो समस्या नियन्त्रणका लागि मद्दत पुग्छ ।’

उनले नेपालजस्तो सानो देशमा वर्षमा करिब पाँच हजार व्यक्तिले वर्षेनी आत्महत्या गर्नु दुखद् भएको बताए । ‘प्रत्येक २० जना व्यक्तिमा एक जनाले आत्महत्या गर्ने बारे सोचिरहेका हुन्छन्, त्यसैले हामीले आपसमै कुरा गरेर यसको नियन्त्रणका लागि किन पहल नगर्ने ?’ उनले भने ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्व प्रत्येक वर्ष ८ लाख बढी व्यक्तिले आत्महत्या गरेर आफ्नो ज्यान लिन्छन् । सन् २०१२ मा विश्वभर हुने आत्महत्या मध्ये ७६ प्रतिशत आत्महत्या निम्न तथा मध्य आय भएका राष्ट्रमा हुने गरेको पाइएको छ । जसको ३९ प्रतिशत दक्षिणपूर्वी एशियामा भएको छ ।

अपराध अनुसन्धान विभागका अनुसार नेपालमा २०७२÷०७३ मा ४ हजार ६ सय ९५ आत्महत्याका मुद्दा दर्ता भएको थियो । जसमा सवैभन्दा बढी आत्महत्या झुण्डिएर भएको छ। उक्त वर्ष झुण्डिएर ३ हजार ३ सय ९०, विष सेवन गरेर १ हजार १ सय ८६ ले आत्महत्या गरेका छन्।
आत्महत्या गर्ने संख्या महिलाहरुको भन्दा पुरुषको बढी रहेको पाइएको छ । २ हजार ४ सय ६८ पुरुष र दुई हजार ६२ महिलाले आत्महत्या गरेका थिए । त्यसैगरी ८७ बालिका र ८८ बालकले आत्महत्या गरेको पाइएको थियो ।

Share.

Leave A Reply