विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको खेलमा हङकङसँग नेपाल ८३ रनले पराजित

0

अशोज २७, विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको खेलमा हङकङसँग नेपाल ८३ रनले पराजित भएको छ । नेपाल सामु जीतका लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपाल मात्र ३४.५ ओभरमा मात्र १११ रनमा समेटियो । मध्यम लक्ष्य पछ्याउने क्रममा नेपालको ब्याटिङ जम्न सकेन । केही खेलाडीहरुले राम्रो शुरुवात गरे पनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन् ।ओपनर सागर पुनलाई मात्र ३ रनमा गुमाएपछि ज्ञानेन्द्र मल्ल र पारस खड्काले नेपालको पारी सम्हाल्न खोजे तर मल्ल २१ रन बनाएर अजिज खानको बलमा आउट भए ।लगत्तै दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि पारस खड्काल आरिफ शेखसँग नेपालको स्कोरबोर्डलाई अघि बढाए । तर, १८ औँ ओभरमा पारस आउट भएपछि नेपाल ६९ रनको स्थितिमा चार विकेट गुमाएको स्थितिमा पुग्यो ।अन्त्यतिर विनोद भण्डारीले आक्रमक खेल प्रस्तुत गर्दै १ छक्का र २ चौकाको मद्दतले १८ रन बनाए पनि जीतका लागि त्यो काफी हुन सकेन ।
यसअघि, हङकङको मोङ हकमा रहेको टिन क्वाङ रोर्ड रिक्रिएसन मैदानमा जारी खेलमा नेपालले टस जितेर हङकङलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो ।नेपालले शुरुवात पनि निकै उत्कृष्ट गर्यो । ३.४ ओभरमा हङकङलाई खाता खोल्न नदिई सुसन भारीले हङकङका ओपनर अन्सुमान राथलाई पभिलियनको बाटो देखाए ।त्यसपछि १० औँ ओभरमा बबर हायात आउट भएपछि हङकङ दबाबमा परेको थियो ।ओपनर जेम्स जोन एटकिन्सनले एक तर्फबाट पारी सम्हाले पनि अर्को तर्फ निरन्तर रुपमा विकेट खस्दै गयो ।मध्य क्रमलाई ध्वस्त बनाउने क्रममा सन्दीप लामिछानेले १० ओभरमा १ मेडेन राख्दै ४८ रन खर्चेर ३ विकेट लिए भने बसन्त रेग्मीले १० ओभरमा २ मेडेनसहित ३३ रन खर्चेर २ विकेट लिए ।सुसनले ७६ रन बनाएका एटकिन्सनलाई आउट गरेपछि ४०.४ ओभरमा हङकङ ८ विकेट गुमाएर १४४ रनको स्थितिमा रहेको थियो ।तर, अन्त्यतिर तन्विर अफजाल र इसान नवाज मिलेर हङकङको पारी सम्हाले ।करन केसीको बलमा क्याच आउट हुन अघि अफजालले ३ छक्का र ३ चौकासहित आक्रमक ३८ रन बनाए ।केसीले २ विकेट लिए ।हङकङले ४९.५ ओभरमा अलाउट हुँदै १९४ रन बनायो ।विश्वकप छनौट खेलमा खेल्नका लागि ८ वटा टोली यति बेला प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष चार टोलीले विश्वकप छनौट खेल्न पाउनेछन् ।हालसम्म १० खेल खेलेको नेपाल मात्र ८ अंकसहित छैटौँ स्थानमा रहेको छ । नेपाल आफ्ना ११ खेलमध्ये ५ मा जीत तथा ६ मा हार बेहोरेको छ ।

Share.

Leave A Reply