play_circle_outline On Air

मिसकल

play_circle_outline On Air

मिसकल

मतपरिणाम आउने क्रम जारीः एमालेको अग्रता, कांग्रेस पच्छ्याउदै

0

६ जेठ – तीन प्रदेशका ३४ जिल्लाको २८३ स्थानीय तहका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो परिणाम सार्वजनिक हुँदासम्म एमालेले आफ्नो अग्रता कायम राखेको छ भने, एमालेलाई संसदको पहिलो ठूलो दल नेपाली कांग्रेसले पच्छ्याइरहेको छ ।

वैशाख ३१ गते सम्पन्न २ सय ८३ स्थानीय तहमध्ये अहिलेसम्म २ सय ५७ भन्दा बढी स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार एमालेले अग्रता स्थानमा छ भने, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो परिणामअनुसार एमालेले १ सय ५ स्थानमा विजयी हासिल गरेको छ । यसैगरी नेपाली काँग्रेसले ९९ तथा माओवादी केन्द्रले अहिलेसम्म ४६ स्थानमा जित हासिल गरेको छ । तीन स्वतन्त्रसहित नयाँ शक्ति, राप्रपा र राष्ट्रिय जनमोचा नेमकिपाले एक–एक स्थानमा जितेका छन् ।

तीन महानगरमा एमाले र एकमा कांग्रेसको अग्रता
स्थानीय तहको निर्वाचनमा चार महानगरपालिकामा एमाले र कांग्रेसले अग्रता कायमै राखेका छन् । एमालेले सवैभन्दा ठूलो महानगर पोखरा लेखनाथ, काठमाडौं र भरतपुर महानगरपालिकामा तथा कांग्रेसले ललितपुर महानगरपालिकामा अग्रता लिएको छ।

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्या सुन्दर शाक्य र उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्की श्रेष्ठले अग्रता लिनु भएको छ । यो समाचार तयार पार्दासम्म एमालेका मेयरका उम्मेदवार शाक्यले १६ हजार ३ सय ६९ मत पाउनु भएको छ भने कांग्रेसका मेयरका उम्मेदवार राजुराज जोशीले ११ हजार २ सय ९ मतका साथ एमालेका शाक्यलाई पछ्याइरहनु भएको छ ।

यस्तै विविकशील पार्टीकी रञ्जु दर्शनाले ६ हजार ५ सय २६ मत पाउनु भएको छ भने साझा पार्टीका किशोर थापाले ४ हजार ८ सय ७८ मत पाउनु भएको छ। नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार सर्वोत्तम डंगोल १ हजार ८ सय ५७ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी काठमाडौंको उपमेयरमा अग्रता लिनु भएकी श्रेष्ठले १० हजार ९ सय ६२ मत पाउनु भएको छ भने एमाले र राप्रपाको गठबन्धनबाट उपमेयरका उम्मेदवार राजाराम श्रेष्ठले ६ हजार ७ सय १६ मत पाउनु भएको छ ।

उता, ललितपुरमा भने नेपाली कांग्रेसको अग्रता लिएको छ। कांग्रेसका मेयरका उम्मेदवार चिरीबाबु महर्जन एमालेका हरिकृष्ण ब्यन्जनकारलाई पछि पार्दै अग्रता लिनु भएको हो। कांग्रेसका चिरीबाबुले १६ हजार ३ सय ८३ मत प्राप्त गर्नु भएको छ भने एमालेका ब्यञ्जनकारले १४ हजार ५ सय ४० मत पाउनु भएको छ। साझा पार्टीका रमेश महर्जनले ६ हजार २ सय ६९ र माओवादी केन्द्रका दिनेश महर्जनले १ हजार ८ सय ३६ मत प्राप्त गर्नु भएको छ।

यस्तै उपमेयरमा पनि कांग्रेसकी उम्मेदवार गीता सत्यालले अग्रता लिइरहनु भएको छ। सत्यालले ९ हजार २ सय ४१ मत प्राप्त गर्नु भएको छ भने साझा पार्टीकी शोभा शाक्यले ६ हजार ४ सय मत पाउनु भएको छ ।

यसैगरी, पोखरामा पनि नेकपा एमालेले नै अग्रता लिएको छ। एमालेका मेयरका उम्मेदवार मानबहादुर जिसीले १८ हजार ६ सय १७ मतका साथ अग्रता लिइरहनु भएको छ। कांग्रेस–माओवादी गठबन्धनबाट मेयरका उम्मेदवार बनेका रामजी कुँवरले १६ हजार ९ सय ७५ मतका साथ एमालेका उम्मेदवार जिसीलाई पछ्याइरहनु भएको छ।

उपमेयरमा पनि एमालेकै उम्मेदवार अगाडि रहनु भएको छ। एमालेकी मन्जु गुरुङले १६ हजार ३ सय ५९ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसकी सरस्वती गुरुङले १५ हजार १ सय ३८ मत पाउनु भएको छ ।

Share.

Leave A Reply