play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको बिद्युतको नयाँ मूल्य निर्धारण

0

२५ साउन । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युत्को नयाँ मूल्य निर्धारण गरेको छ ।भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल भारत विद्युत् आदानप्रदान समितिको बैठकले न्यूनतम रु ८.८८ देखि अधिकतम रु १०.३२ प्रतियुनिटमा विद्युत् खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।नयाँदिल्लीमा रहनुभएका नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले दिनुभएको जानकारीअनुसार न्यूनतम भारु ५.५५ र अधिकतम भारु ६.४५ मूल्य निर्धारण गरिएको छ । विशेषगरी सानो क्षमताको प्रसारण लाइनको हकमा बढी मूल्य तिर्नुपर्ने देखिएको छ ।प्रवक्ता अधिकारीले ११ केभी क्षमताको प्रसारण लाइनबाट आयात हुने विद्युत्को मूल्य प्रतियुनिट रु १०.३२ (भारु ६.४५), ३३ केभीमा प्रतियुनिट रु ९.६० रुपैयाँ (भारु ६) र १३२ केभीमा प्रतियुनिट ८.८८ रुपैयाँ (भारु ५.५५) तिर्नुपर्नेछ । निर्णयअनुसार ५० मेगावाट भन्दामाथि वा १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत आयात हुने विद्युत्को मूल्य नेपालका लागि सस्तो हुने भएको हो ।
त्यस्तै आगामी हिउँदमा विद्युत्भार कटौती पूर्णरुपमा अन्त्यका लागि सरकारले दुई अन्तरदेशीय लाइनमार्फत थप १०० मेगावाट विद्युत् आयात गर्ने भएको छ । आदानप्रदान समितिको बैठकमा प्राधिकरणले भारतीय पक्षसँग तीनवटा १३२ केभी र दुईवटा ३३ केभी नयाँ प्रसारण लाइन निर्माणको प्रस्ताव राखेको छ । अधिकारीकाअनुसार पलिया–धनगढी र अत्तरिया, नानपारा–कोहलपुर र सम्पतीया–मैनैयामा १३२ केभी तथा नानपारा–खडिया र नौतनवा–भैरहवामा ३३ केभी लाइन निर्माणको प्रस्ताव राखिएको छ ।बैठकको नेतृत्व नेपालको तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतका तर्फबाट केन्द्रीय विद्युत प्राधिकरणका प्रतिनिधिले गर्नुभएको थियो । यसअघि बैठक सन् २०११ मा बसेको थियो । उक्त बैठक बस्न नसक्दा नेपालले आयात गर्दै आएको विद्युत्को मूल्य प्रतियुनिट रु ११ सम्म तिर्नु परेको थियो ।

Share.

Leave A Reply