play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

तीन अर्ब रुपियाँको कृषिजन्य र जडीबुटी भारत निर्यात

0

गत आर्थिक वर्ष भारततर्फ रु तीन अर्बभन्दाबढी मूल्यका कृषिजन्य पदार्थ तथा जडीबुटी भारततर्फ निर्यात भएको छ । विराटनगर नाका भएर गत आवमा रु तीन अर्ब २६ करोड १२ लाख २४ हजार मूल्य बराबरको कृषिजन्य र जडीबुटी निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको हो ।

सोमध्ये सबैभन्दा बढी रु दुई अर्ब ६६ करोड ९६ लाख ३२ हजार मूल्य बराबरको तीन हजार ८१४ मेट्रिक टन अलैँची निर्यात भएको छ भने सबैभन्दा कम रु छ लाख ३३ हजार मूल्य बराबरको दुई मेट्रिक टन सुपारी निर्यात भएको छ ।

त्यसैगरी, रु ४२ करोड, ३४ लाख ११ हजार मूल्य बराबरको २३ हजार ५२३ मेट्रिक टन पीना, रु एक करोड ३३ लाख ४३ हजार मूल्य बराबरको बन्दागोभी र काउली, रु ९६ लाख २० हजार मूल्य बराबरको ६४२ मेट्रिक टन अदुवा र रु दुई करोड ४२ लाख ९२ हजार मूल्य बराबरको एक हजार ६१९ मेट्रिक टन कुचो निर्यात भएको छ ।

रु एक करोड छ लाख ४८ हजार मूल्य बराबरको १९४ मेट्रिक टन लिनसिड, रु तीन करोड, ६६ लाख ८९ हजार मूल्य बराबरको ६५५ मेट्रिक टन तेजपात र रु पाँच करोड ८७ लाख ३९ हजार मूल्य बराबरको ३२५ मेट्रिक टन चिया निर्यात भएको सो कार्यालयले जनाएको छ ।

त्यस्तै, रु ८८ लाख १८ हजार मूल्य बराबरको ५८८ मेट्रिक टन रुद्राक्ष, रु ४७ लाख ३७ हजार मूल्य बराबरको ३३ मेट्रिक टन चिराइतो र रु ६४ लाख ७० हजार मूल्य बराबरको १९ मेट्रिक टन मजिठो निर्यात भएको थियो । साथै जटामासी, टिम्बुर, सताबरी, काइयो फूल, वनलसुन लगायतका जडीबुटी निर्यात भएको बताइएको छ ।

Share.

Leave A Reply