play_circle_outline On Air

गितिसौगत

play_circle_outline On Air

गितिसौगत

कृषि शिक्षाप्रति आकर्षण बढ्दै

0

भदौ २९,
रोजगारीका राम्रा अवसर आउन थालेपछि कृषि शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्न थालेको छ । विज्ञानमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीको पहिलो रोजाइ मानव चिकित्सक बन्ने भए पनि सबैले छात्रावृत्ति नपाउने र शुल्क तिरेर पढ्दा निकै खर्चिलो हुने भएकाले दोस्रो विकल्पका रूपमा कृषि शिक्षा परेको हो ।
हाल नेपालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय(एएफयु), त्रिभुवन विश्वविद्यालय (त्रिवि) र पूर्वाञ्चल विश्वविद्यालयले कृषि शिक्षा पढाउँदै आएका छन् । तीमध्ये पूर्वाञ्चल विश्वविद्यालयले निजी क्षेत्रलाई मात्रै सम्बन्धन दिएको छ भने अन्य दुईका आंगिक क्याम्पस छन् ।
एएफयुकाउपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकाल यस विश्वविद्यालयमा कृषि पढ्न गतवर्ष चार हजारले आवेदन दिएकामा २१५ जनाले मात्रै पढ्ने अवसर पाएको बताउनुहुन्छ । त्यही हाराहारीमा त्रिविमा विद्यार्थीले आवेदन दिने गरेका छन् । एएफयुले कृषि स्नातकका लागि चितवनको रामपुरमा १६५ र पोखराको पुरनचौरमा ५० जनामात्रै विद्यार्थी पढाउँदै आएको छ ।
पूर्वाञ्चलको सम्बन्धनमा निजी कलेजले भरतपुरमा ५० र काठमाडौँमा ५० विद्यार्थी पढाउँदै आएका छन् । दश हजारको हाराहारीका विद्यार्थी कृषि पढ्न इच्छुक पभएपनि समग्रमा वार्षिक ५६५ जनाले मात्रै नेपालमा कृषि शिक्षा पढ्न पाउने उपकुलपति ढकालले बताउनुभयो । उहाँका अनुसार कृषिसँगै भेटेनरी र मत्स्य विज्ञानमा पनि विद्यार्थीको आकर्षण बढ्दो छ ।
निजी क्षेत्रबाट १० वटा क्याम्पसले सम्बन्धनका लागि एएफयुमा निवेदन दर्ता गरेका छन् । सरकारी तवरबाट मात्रै सबै विद्यार्थीको मागअनुसार पढाउन नसक्ने भएकाले पूर्वाधार सम्पन्न भएका निजी कलेजलाई पनि सम्बन्धन दिएर पढ्ने अवसर बढाउनु पर्नेमा उहाँको जोड रहेको छ ।
त्रिविले पनि चितवनको रामपुर छोडेपछि शक्तिखोरमा नयाँ क्याम्पस स्थापना गरी पढाई सञ्चालन गर्ने तयारी गरेको छ । पछिल्लो समय कृषि शिक्षा पढ्ने छात्राहरु पनि बढ्न थालेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका पूर्व रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरेले नेपाल कृषि प्रधान देश भएकाले उत्पादनको क्षेत्रमा जति नै जनशक्ति भए पनि अपुग हुने बताउनुभयो । विदेशमा पनि यसको माग निकै बढी भएकाले पछिल्लो समय विद्यार्थीको रोजाइ कृषि शिक्षा बनेको उहाँको भनाइ छ ।
नेपालमा कृषि शिक्षामा विद्यावारिधि गर्नेहरु पनि निकै बढेर गएका छन् । यकिन तथ्यांक नभए पनि नेपालमा मात्रै एक सयभन्दा बढीले विद्यावारिधि गरेको अनुमान छ ।

Share.

Leave A Reply