इन्टरनेट नेटवर्किङमार्फत् विद्युतीय अवास्तविक मुद्राको कारोबारमा संलग्न सातजना पक्राउ

0

असोज २०,
इन्टरनेट नेटवर्किङमार्फत् बिटक्वाइनको रुपमा चिनिने विद्युतीय अवास्तविक मुद्राको कारोबारमा संलग्न सातजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्तप्रताप शाह, सिन्धुपाल्चोकका मिङमार तामाङ, नुवाकोटका विन्दा ढकाल, रुपन्देहीका मनीषकुमार गिरी र ललितपुरका दमन बस्नेत रहेका छन् । उनीहरुको साथबाट प्रहरीले बिटक्वाइन कारोबारमा प्रयोग गरिएको मोबाइल र ल्यापटपसमेत बरामद गरेको छ । नेपालमा बिटक्वाइनका कारोबारी पक्राउ परेको पहिलोपटक हो । अन्तर्रा्ष्ट्रिय बजारमा निकै महँगो मूल्यमा कारोबार भइरहेको बिटक्वाइनलाई नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरिसकेको छ । अहिलेसम्म नेपालमा बिटक्वाइन कारोबारका मुख्य व्यक्ति यिनीहरु रहेको र उनीहरुभन्दा तलको नेटवर्कमा थुप्रै रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।
यो समूहले झन्डै १० लाख डलर बराबरको बिटक्वाइनको कारोबार गरेको देखिएकोे छ । प्रतिविटक्वान १० सेन्टबाट सुरु भएको बिटक्वाइनको मूल्य अहिले ४ हजार ३९३ अमेरिकी डलर पुगेको छ । विश्वका थुप्रै देशले बिटक्वाइन कारोबारलाई अवैध घोषणा गरिसकेका छन् भने यसको कारोबारले अर्थतन्त्रमा समस्या ल्याउनसक्ने चेतावनी अर्थविदहरुले दिँदै आएका छन् ।

Share.

Leave A Reply